News Desk
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको उद्घोष गरेका छन।
मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अमेरिकासँगको सैन्य सुरक्षादेखि आर्थिक सम्बन्ध पनि सकिएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको नीतिले क्यानडाको अर्थतन्त्र प्रभावित भएको र आर्थिक गतिविधि बढाउन क्यानडाले निकै प्रयास गर्न आवश्यक रहेको उनको भनाइ छ।
बुधबार मात्रै ट्रम्पले आयातित सवारी साधन र सवारी पार्ट्समाथि २५ प्रतिशत स्थायी कर लगाउने घोषणा गरेका थिए।
लिबरल पार्टीका नेता समेत रहेका कार्नीले १९६५ मा हस्ताक्षर भएको क्यानाडा–अमेरिका अटोमोटिव उत्पादन सम्झौता विपरित अहिले स्थायी कर लगाइएको बताए।
कार्नीले अर्को महिना हुने निर्वाचनमा आयात शुल्कहरूको सामना गर्न सक्ने गरि आफ्नो अभियान योजनामा परिवर्तन समेत गरे।
अमेरिकाले पहिले नै क्यानाडाका सामानहरूमा २५ प्रतिशतको कर लागू गरेको छ। साथै सबै एल्युमिनियम र स्टील आयातमाथि पनि थप २५ प्रतिशत शुल्क लगाएको छ।
व्हाइट हाउसका अनुसार नयाँ सवारी साधन ट्यारिफहरू २ अप्रिलबाट लागू हुनेछन। सवारी साधन आयात गर्ने व्यवसायहरूका लागि अर्को दिनदेखि शुल्क लागू हुनेछ। पार्ट्समाथि करहरू मे वा त्यसपछि लागू हुनेछन।