News Desk
माल्दिभ्सले इजरायली राहदानी वाहकलाई आफ्नो देश यात्रामा प्रतिबन्ध लगाएको छ। माल्दिभ्स (मालद्वीप)को संसद्मा इजरायली राहदानीमाथि प्रतिबन्ध लगाउने विधेयक आज पारित भएको छ।
मालदिभ्सका मिडियाका अनुसार संसद्ले आज अध्यागमन ऐनमा पक्षमा मतदान गरेको छ। विधेयकमा प्यालेस्टिनीहरूमाथिको अत्याचार बन्द नभएसम्म इजरायली राहदानी वाहकलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध लगाउने उल्लेख छ।
इजरायली राहदानी वाहकहरूलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध लगाउने प्रस्ताव गतवर्ष मे २९ मा विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का सांसद मिकेल अहमद नसीमले पेश गरेका थिए।
लगभग ३०८ दिनपछि हिजो माल्दिभ्सको संसद्ले विधेयकको समीक्षा गरेपछि पारित गरेको हो। विधेयक संसद्बाट सर्वसम्मतिले पारित भएको छ।
दुई देशको नागरिकता भएका व्यक्तिले अर्को देशको राहदानी मार्फत इजरायलीले माल्दिभ्समा यात्रा गर्न सक्छन।
यसैबीच माल्दिभ्सले प्यालेस्टाइनमा भइरहेको ंनरसंहारं अन्त्य गर्न अन्ताराष्ट्रिय समुदायलाई आह्वान गरेको छ। संसद्ले आज मात्रै विधेयक पारित गरे पनि यहाँको सरकारले यसअघि नै इजरायलीलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
माल्दिभ्स र इजरायलबीचको सम्बन्ध कहिल्यै राम्रो रहेन। सन १९६५ मा माल्दिभ्सले स्वतन्त्रता प्राप्त गर्दा उसलाई स्वतन्त्र देशको मान्यता दिने पहिलो देश इजरायल पनि थियो। तैपनि माल्दिभ्स सधैं इजरायलको विरुद्धमा रहेको छ। इजरायली कृषि वैज्ञानिक र चिकित्सकहरूले आफ्नो देशमा काम गरे पनि माल्दिभ्सले इजरायलसँग कहिल्यै पनि कूटनीतिक सम्बन्ध विस्तार गरेन।