रूस-युक्रेन युद्धविराम प्रयासबाट अमेरिका पछि हट्न सक्ने, विदेशमन्त्री रुबियोको चेतावनी
News Desk
Apr-19 , 2025 तारिख 06:02 बिहान

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूस–युक्रेन युद्धविरामका लागि भइरहेको अन्तर्राष्ट्रिय प्रयासबाट अमेरिका बाहिरिन सक्ने चेतावनी दिएका छन्। पेरिस भ्रमणका क्रममा युरोपेली र युक्रेनी नेताहरूसँगको छलफलपछि स्वदेश फर्कंदै गर्दा उनले शान्ति सम्झौताको लागि स्पष्ट सम्भावना नदेखिए अमेरिकाले मध्यस्थता प्रयासबाट हात झिक्ने संकेत गरेका हुन्।

रुबियोका अनुसार युद्धविरामका लागि हप्तौं वा महिनौंसम्म प्रतीक्षा गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दै युक्रेन र रूसबीच सहमतिका सम्भावना कमजोर देखिएको बताए। उनको चेतावनी अमेरिकासँग युक्रेनबीच बहुप्रतीक्षित खनिज सम्झौतामा प्रारम्भिक सहमति बनेको केही समयमै आएको हो।

अमेरिका र युक्रेनबीच आर्थिक साझेदारीको उद्देश्यसहितको खनिज सम्झौताको आशयपत्रमा आज हस्ताक्षर भएको छ। युक्रेनकी प्रथम उपप्रधान तथा आर्थिक विकास मन्त्री युलिया एसभिरिडेन्को र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पृथक रूपमा उक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन्। एसभिरिडेन्कोले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिँदै उक्त आशयपत्रले पूर्ण सम्झौताका लागि आधार तयार गरेको बताइन्।

आगामी साता पूर्ण सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ, जसमा युक्रेनको पुनःनिर्माणका लागि विशेष लगानी कोष स्थापना गर्ने र दुर्लभ खनिज तथा जीवाश्म इन्धनको संयुक्त उत्खनन र व्यवस्थापनसम्बन्धी प्रावधान समावेश हुने अपेक्षा गरिएको छ। ट्रम्प प्रशासनदेखि नै युक्रेनमा पाइने रणनीतिक खनिज स्रोतहरूमा अमेरिकी पहुँचको विषयमा दुई देशबीच निरन्तर छलफल हुँदै आएको थियो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुअरी २८ मा वाशिङ्टनमा खनिज सम्झौतालाई लिएर सार्वजनिक विवाद समेत भएको थियो। त्यसपछि सम्झौता अस्थायी रूपमा रोकिएको थियो।

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले चीनमाथि रूसलाई युक्रेनविरुद्धको युद्धमा सहयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार चीनले रूसलाई तोप, बारुद लगायतका सैन्य सामग्री आपूर्ति गरिरहेको छ। तर चीनले उक्त आरोपलाई अस्वीकार गर्दै आधारहीन भनेको छ।

यो घटनाक्रमले रूस–युक्रेन युद्धको कूटनीतिक सन्तुलनमा थप पेचिलो मोड ल्याएको छ, जुन भविष्यमा द्वन्द्व समाधानको प्रयासमा कति प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ।

धेरै पढिएको