News Desk
रूसको राजधानी मस्को नजिकै भएको कार बम विस्फोटमा युक्रेनमा खटिएका वरिष्ठ रूसी सेनाका कमाण्डर जनरल यारोस्लाभ मोस्कालिकको ज्यान गएको छ। उक्त घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्क्फ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्ध अन्त्यका लागि चलिरहेको वार्ताको क्रममा भएको हो।
रूसी गृह मन्त्रालयका अनुसार, बिहीबार बिहान मस्कोको उच्च सुरक्षा क्षेत्रभित्र पर्ने सडकमा मोस्कालिक सवार गाडीमा अचानक विस्फोट भएको थियो। विस्फोटपछि घटनास्थलमै जनरलको मृत्यु भएको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन्। अधिकारीहरूले यसलाई "आतंकवादी हमला" भनेका छन् र प्रारम्भिक अनुसन्धानमा युक्रेनी पक्षको संलग्नताको आशंका व्यक्त गरिएको छ। तर युक्रेनी पक्षले विस्फोटमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ।
यस घटनाले द्वन्द्वको समाधानका लागि भइरहेको कूटनीतिक पहलमाथि गम्भीर असर पार्न सक्ने चिन्ता उत्पन्न भएको छ। केही विश्लेषकहरूका अनुसार, क्रेमलिनभित्रै शान्तिप्रक्रियाको विरोध गर्ने कट्टर गुटहरूबाट यो हमला गराइएको हुनसक्ने सम्भावना छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले घटनाको कडा भर्त्सना गर्दै शान्तिवार्ता कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन्। उता, अमेरिकी पक्षले पनि घटनाप्रति गम्भीर चासो प्रकट गर्दै वार्ताको निरन्तरता आवश्यक रहेको उल्लेख गरेको छ।