News Desk
भारतका गृहमन्त्री अमित शाहले शुक्रबार सबै राज्यका मुख्यमन्त्रीहरूलाई आफ्ना राज्यमा रहेका पाकिस्तानी नागरिकहरूलाई चाँडोभन्दा चाँडो देश निकाला गर्न निर्देशन दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार शाहले दिउँसो आयोजित बैठकमा मुख्यमन्त्रीहरूसँग सुरक्षा चुनौतीबारे छलफल गर्दै यस्तो निर्देशन दिएका हुन्।
यसैबीच, जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतीय सुरक्षाबलले व्यापक कारबाही अघि बढाएको छ। त्राल र अनन्तनागको बिजबेहरा क्षेत्रमा दुई घरमा खानतलासी गर्दा विस्फोटक पदार्थ भेटिएको र विस्फोट हुँदा आसिफ शेख र आदिल थोकरका घरहरू पूर्ण रूपमा ध्वस्त भएको भारतीय सञ्चारमाध्यम ‘दैनिक भास्कर’ले जनाएको छ। भारतले यी दुवैलाई लश्कर-ए-तैयबा आतंककारी समूहसँग आवद्ध रहेको आरोप लगाएको छ।
त्यस्तै, बान्दीपोरामा भएको मुठभेडमा सुरक्षाबलले एक आतंककारीलाई मारिदिएको खबर आएको छ भने भिडन्तका क्रममा दुई भारतीय सैनिक घाइते भएका छन्।
पहलगामको बैसरन उपत्यकामा अप्रिल २२ मा भएको आतंककारी आक्रमणमा २६ जना सर्वसाधारणको ज्यान गएको थियो। ज्यान गुमाउनेहरूमा नेपाली युवा सुदीप न्यौपाने पनि परेका थिए। घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएको छ, जसले संयुक्त राष्ट्रसंघलाई समेत चिन्तित बनाएको छ।
यस्तै, पाकिस्तानका रेन्जर्सले पञ्जाब सीमामा खटिएका भारतीय सीमा सुरक्षा बल (BSF) का जवान पूर्णकुमार (पीके) सावलाई नियन्त्रणमा लिएको समाचार पनि सार्वजनिक भएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताइएको छ।