क्यानडाको आम निर्वाचनबीच ट्रम्पको टिप्पणीमा पोइलिभ्रेले दिए कडा जवाफ
News Desk
Apr-29 , 2025 तारिख 06:20 बिहान

वैशाख १५, क्यानडामा आम निर्वाचन चलिरहेका बेला कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीप्रति कडा प्रतिक्रिया दिएका छन्।

मतदान जारी रहँदै गर्दा राष्ट्रपति ट्रम्पले फेरि एकपटक क्यानडालाई अमेरिकाको एक राज्य बनाउने धम्की दिएका थिए। ट्रम्पको यस्तै टिप्पणीपछि कन्जरभेटिभ नेता पोइलिभ्रे आक्रोशित हुँदै सार्वजनिक रूपमा त्यसको खण्डन गरेका हुन्।

पोइलिभ्रेले आफ्नो एक्स (Twitter) अकाउन्टमा लेखेका छन्, "राष्ट्रपति ट्रम्प! हाम्रो चुनावबाट टाढै रहनुहोस्। क्यानेडियालीहरूले मात्र मतदानमार्फत क्यानडाको भविष्य निर्धारण गर्नेछन्।"
उनले थप लेखेका छन्, "क्यानडा सधैँ सार्वभौम र स्वतन्त्र रहनेछ, र कहिल्यै संयुक्त राज्य अमेरिकाको ५१औँ राज्य बन्ने छैन।"

क्यानडामा सोमबारदेखि प्रधानमन्त्री छान्ने आम निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ।

यसबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै क्यानडाली मतदातालाई आह्वान गरेका छन्, "एउटा त्यस्तो नेता छान्नुहोस्, जसले तपाईंहरूको कर आधा घटाउन, तपाईंको सेनालाई संसारको सबैभन्दा शक्तिशाली बनाउन र तपाईंका कार, स्टिल, एल्युमिनियम, काठ, ऊर्जा तथा अन्य व्यवसायहरूलाई कर वा शुल्क बिना चार गुणा बढाउन सक्छ।"

ट्रम्पले चेतावनी दिँदै थप लेखेका छन्, "यदि क्यानडा अमेरिकाको राज्य बनेन भने, अमेरिका क्यानडालाई प्रत्येक वर्ष दिँदै आएको सयौं अर्ब डलरको सहायता बन्द गर्नेछ।"

 

धेरै पढिएको