युक्रेन युद्ध : पुटिनद्वारा मे ८ देखि तीन दिने अस्थायी युद्धविराम घोषणा
News Desk
Apr-29 , 2025 तारिख 06:48 बिहान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आगामी मे ८ देखि लागू हुनेगरी तीन दिनका लागि एकतर्फी अस्थायी युद्धविरामको घोषणा गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको ८०औं वार्षिकोत्सव ‘द भिक्ट्री डे’ को सम्मानमा पुटिनले यस्तो कदम चाल्नुभएको हो।

रोयटर्सका अनुसार मे ८ देखि सुरु भई मे १० को मध्यरातसम्म कायम रहने ७२ घण्टे युद्धविराम अवधिभर युक्रेन विरुद्धको सबै प्रकारका सैन्य गतिविधि स्थगित गर्न पुटिनले आदेश दिनुभएको छ। मानविय कारणलाई ध्यानमा राख्दै गरिएको यो निर्णयमा युक्रेनलाई पनि सहभागी भई युद्धविरामको सम्मान गर्न आह्वान गरिएको छ।

तर, क्रेमलिनले चेतावनी दिएको छ– यदि किएभले युद्धविराम उल्लंघन गरे, रूसी सेनाले पर्याप्त र प्रभावकारी जवाफ दिनेछ। साथै, रुसले युक्रेन संकटको मूल कारण समाधान गर्न तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग बिना कुनै पूर्वशर्त शान्ति वार्ताका लागि तयारी रहेको पनि पुनः दोहोर्याएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्राइमिया त्याग्न तयार रहेको दावी गर्दै पुटिनलाई युद्ध अन्त्यका लागि सम्झौतामा पुग्न आग्रह गर्नुभएको छ। तर, जेलेन्स्कीका तर्फबाट ट्रम्पको उक्त दावीमा कुनै प्रतिक्रिया आएको छैन।

ज्ञात रहोस्, क्राइमियालाई सन् २०१४ मा रुसले आफूमा गाभेको थियो, जसको पुनः प्राप्तिका लागि जेलेन्स्कीले दृढ सङ्कल्प व्यक्त गर्दै आएका छन्।

यस्तै, उत्तर कोरियाले पनि पहिलोपटक औपचारिकरूपमा युक्रेन युद्धमा रुसलाई सहयोग गर्न आफ्ना सैनिक पठाएको पुष्टि गरेको छ, जसले युद्धको अन्तर्राष्ट्रिय आयाम झनै चर्काउने संकेत गरेको छ।

 

धेरै पढिएको