रुस युक्रेन युद्धमा करिब छ सय उत्तर कोरियाली सैनिकको मृत्यु
News Desk
May-01 , 2025 तारिख 06:03 बिहान

उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रुसलाई सैनिक सहयोग गरेको आधिकारिक पुष्टि गरेपछि, करिब छ सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको र झण्डै चार हजार सात सय घाइते भएको जानकारी सियोलका एक सांसदले बुधवार दिएका छन।

दक्षिण कोरियाको संसद्को गुप्तचर समितिमा रहेका सांसद ली सेओङ–क्वेनले देशको जासुसी निकायबाट प्राप्त विवरण सार्वजनिक गर्दै भने, “हालसम्म उत्तर कोरियाली सेनामा करिब ४,७०० जनाको हताहती भएको छ, जसमध्ये ६०० को ज्यान गएको छ।”

उत्तर कोरियाली सेनाले पहिलो पटक रुसमा तैनाथ गरिएको पुष्टि यसै साता सोमवार गरेको थियो। सरकारी समाचार संस्था केसिएनएका अनुसार प्योङयाङका सेनाले युक्रेनी नियन्त्रणमा रहेका क्षेत्रहरू पुनः कब्जा गर्न मस्कोको मद्दत गरेका छन।

यद्यपि सियोल र वासिङ्टनले उत्तर कोरियामाथि लामो समयदेखि रुसलाई सैनिक तथा हतियार सहयोग दिएको आरोप लगाउँदै आएका थिए, उत्तर कोरियाको सहभागिताबारे मस्कोको यो औपचारिक पुष्टि पहिलोपटक हो।

सांसद लीका अनुसार, हालसम्म करिब दुई हजार उत्तर कोरियाली सैनिकलाई स्वदेश फर्काइएको छ। उनीहरूलाई अहिले राजधानी प्योङयाङलगायत अन्य स्थानहरूमा एकान्तवासमा राखिएको छ।

“कुर्स्क क्षेत्रमा मारिएका उत्तर कोरियाली सैनिकहरूको शव त्यहीँ स्थानीय रूपमा जलाइएको र त्यसपछि फिर्ता पठाइएको विश्वास गरिएको छ,” उनले जानकारी दिए।

लीले बताएअनुसार, उत्तर कोरियाले दुई चरणमा गरेर १८ हजार सेना रुस पठाएको थियो, जसले कुर्स्क क्षेत्र पुनः रुसको नियन्त्रणमा ल्याउन महत्वपूर्ण सहयोग गरेको हो।

उनका अनुसार पछिल्लो समय कुर्स्क क्षेत्रमा भिडन्तको संख्या कम भए पनि, उत्तर कोरियाली सैनिकहरूबीच अत्यधिक मदिरा सेवन, चोरीजस्ता अनुशासनहीन क्रियाकलापबारे रिपोर्टहरू आएको जनाइएको छ।

धेरै पढिएको