News Desk
अमेरिकी उपराष्ट्रपति जे डी भ्यान्सले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा संलग्न लडाकुहरूलाई पक्राउ गर्न भारतलाई पाकिस्तानले सहयोग गर्नेमा आशावाद व्यक्त गर्नुभएको छ। फक्स न्यूजसँगको अन्तर्वार्तामा उहाँले ती लडाकुहरू पाकिस्तान नियन्त्रणमा रहेको क्षेत्रमा सक्रिय रहेको दाबी गर्दै, भारतले सम्भावित कारबाही गर्दा क्षेत्रीय तनाव नबढोस् भन्नेमा जोड दिनुभएको हो।
उहाँले भारतलाई संयमित कदम चाल्न आग्रह गर्दै यस्तो कारबाहीले दक्षिण एशियामा वृहद् द्वन्द्व नउब्जियोस् भन्ने अमेरिकी चिन्ता व्यक्त गर्नुभएको छ। भ्यान्स आक्रमणको समयमा आफ्नो परिवारसहित भारतमै रहनुभएको थियो। घटनामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो।
अप्रिल २२ को उक्त हमलापछि भारत–पाकिस्तान सम्बन्ध पुनः चिसिएको छ, जसले दुई देशबीच सैन्य संघर्षको सम्भावनालाई समेत जन्म दिएको छ। पाकिस्तानी सञ्चारमन्त्रीले बुधवार बिहानै भारतले २४ देखि ३६ घण्टाभित्र आक्रमण गर्न सक्ने विश्वसनीय गुप्त सूचनाको दाबी गरेपछि चिन्ता अझै बढेको हो।
यस परिस्थितिमा अमेरिका दुवै पक्षमाथि कूटनीतिक दबाब सिर्जना गर्दैछ। अमेरिकी विदेशमन्त्री मार्को रूबियोले बुधवार राति भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग अलग–अलग टेलिफोन संवाद गर्दै शान्तिपूर्ण समाधानको पक्षमा सहकार्य गर्न आग्रह गर्नुभएको छ।
रूबियोले पाकिस्तानलाई पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा भारतलाई सहयोग गर्न र दुवै पक्षलाई वार्ताबाट समस्या समाधानको बाटो खोज्न सल्लाह दिनुभएको हो। यस्तै, बिहीबार अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग टेलिफोन संवाद गर्दै तनाव नियन्त्रणमा राख्न आग्रह गर्नुभएको छ।
अप्रिल २२ यता, भारत–पाकिस्तान सीमा क्षेत्र, विशेषतः लाइन अफ कन्ट्रोल आसपास, दुबै देशका सेनाबीच छिटपुट गोलीबारीका घटनाहरू भइरहेका छन्। यसले दुई देशबीचको सम्बन्ध थप तनावग्रस्त बनेको संकेत गर्दछ।