News Desk
जम्मु-कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत सरकारले पाकिस्तानविरुद्ध थप कडा कदम चालेको छ।
भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले मे २ मा सूचना जारी गर्दै पाकिस्तानबाट हुने सबै प्रकारका प्रत्यक्ष तथा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाएको हो।
विदेश व्यापार नीति (एफटीपी) २०२३ मा गरिएको नयाँ संशोधनअनुसार अब पाकिस्तानमा उत्पादित वा निर्यात गरिएका कुनै पनि वस्तु भारतले आयात गर्न पाउने छैन, चाहे ती वस्तुहरू स्वतन्त्र रूपमा अनुमति प्राप्त भए पनि।
‘राष्ट्रिय सुरक्षा र सार्वजनिक नीति’ प्राथमिकता
विदेश व्यापार महानिर्देशनालय (DGFT) ले जारी गरेको सूचनामा भनिएको छ कि यो निर्णय भारतको राष्ट्रिय सुरक्षा र सार्वजनिक नीति विचार गरेर गरिएको हो।
नयाँ आदेश लागू भएसँगै अब पाकिस्तानबाट कुनै वस्तु आयात गर्न भारत सरकारको विशेष अनुमति आवश्यक हुनेछ। भारत सरकारको स्वीकृति बिना कुनै पनि पाकिस्तानी वस्तु भारत भित्र्याउन सकिने छैन।
भारतको थप रणनीतिक कदमहरू
पहलगाम आक्रमणपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरिसकेको छ। साथै भारतमा रहेका पाकिस्तानी नागरिकलाई देश छाड्न आदेश दिइएको छ।
त्यसैगरी सबै पाकिस्तानी एयरलाइन्सका लागि भारतीय हवाई क्षेत्रसमेत बन्द गरिएको छ, जसले दुई देशबीचको सम्बन्धलाई झनै चिसिएको संकेत दिएको छ।
भारतको पछिल्लो निर्णयले पाकिस्तानसँगको आर्थिक तथा कूटनीतिक सम्बन्धमा गहिरो असर पार्ने अनुमान गरिएको छ।