पोर्चुगलले झन्डै १८ हजार अवैध विदेशी नागरिकलाई देश छाड्न निर्देशन दिने तयारी
News Desk
May-06 तारिख 06:37 बिहान

वैशाख २२, २०८२ | दक्षिण–पश्चिमी युरोपमा अवस्थित पोर्चुगलले अवैध रूपमा बसोबास गरिरहेका करिब १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ। देशमा मे १८ मा हुने आमनिर्वाचनलाई लक्षित गर्दै सरकारले यस्तो कदम चाल्न लागेको हो।

पोर्चुगल सरकारका ‘मिनिष्टर अफ द प्रेसिडेन्सी’ एन्टोनियो लेताओ अमारोका अनुसार प्रारम्भिक चरणमा करिब ४,५०० जना अवैध आप्रवासीलाई २० दिनभित्र देश छाड्न सूचना दिइनेछ। बाँकीलाई क्रमशः जानकारी दिइने उनले जनाएका छन्।

अवैध आप्रवासन पोर्चुगलको आगामी निर्वाचनको मुख्य मुद्दा बनेको छ। मार्च महिनामा प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको अल्पमत सरकार संसदमा विश्वासको मत गुमाएपछि समयअघि चुनाव घोषणा गरिएको हो।

नेपाली आप्रवासीका लागि पनि पोर्चुगल एक प्रमुख गन्तव्य बनेको छ। विशेषगरी राजधानी लिस्बनमा नेपालीको उपस्थिति उल्लेख्य रहेको छ। हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपाली आप्रवासी रहेको अनुमान छ।

अन्य युरोपेली देशको तुलनामा पोर्चुगलको आप्रवासन नीति लचिलो र सहयोगी मानिन्छ। यही कारणले गर्दा नेपालीसहित धेरै आप्रवासीहरू यसतर्फ आकर्षित भएका छन्। नेपाली समुदायको विस्तारलाई ध्यानमा राख्दै नेपाल सरकारले यसै वर्ष फेब्रुअरी २३ मा लिस्बनमा दूतावास स्थापना गरेको छ।