इजरायलको गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत, गाजालाई पूर्ण नियन्त्रणमा लिने तयारी
News Desk
May-06 तारिख 07:07 बिहान

इजरायलले गाजा क्षेत्रमा हमासविरुद्धको स्थलमार्गबाट हुने सैनिक अभियानलाई विस्तार गर्दै गाजालाई पूर्ण नियन्त्रणमा लिने योजना अगाडि बढाएको छ। आइतबार साँझ बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले यस योजनालाई सर्वसम्मत अनुमोदन दिएको हो।

योजना अनुसार इजरायली सेनाले गाजामा चरणबद्ध रूपमा स्थलगत कारबाही तीव्र पार्नेछ, जसले लामो समय लाग्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक तयारीस्वरूप हजारौं रिजर्भ सेनालाई सम्पर्कमा आउन आह्वान गरिएको छ।

यद्यपि, यो अभियान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी क्षेत्रीय भ्रमणपछि मात्र सुरु गरिने जनाइएको छ। ट्रम्प मे १३ देखि १६ सम्म मध्यपूर्वको भ्रमणमा रहनु हुनेछ।

साथै, इजरायली मन्त्रिपरिषद्ले गाजामा खाद्यान्न तथा मानवीय सहायता आपूर्तिको जिम्मा निजी कम्पनीहरूलाई दिने प्रस्तावमा सैद्धान्तिक सहमति जनाएको छ। तर, संयुक्त राष्ट्रसंघ र अन्य मानवीय संस्थाहरूले यस प्रस्तावलाई अस्वीकार गर्दै यसमा संलग्न नहुने बताएका छन्, कारण – यो प्रस्तावले अन्तर्राष्ट्रिय मानवीय मापदण्ड उल्लंघन गर्छ।

इजरायली नाकाबन्दीका कारण गाजामा दुई महिनादेखि खाद्य र आधारभूत वस्तुहरूको चरम अभाव रहेको राष्ट्रसंघले चेतावनी दिँदै आएको छ।

मार्च १८ देखि इजरायलले युद्धविराम उल्लंघन गर्दै गाजामा पुनः आक्रमण थालेको हो। हाल इजरायली सेनाको नियन्त्रणमा गाजाको झन्डै एक तिहाई भूभाग परिसकेको छ। सुरक्षा मन्त्रिपरिषदका सदस्य जिभ एलकिनका अनुसार हमास पूर्णरूपमा परास्त नभएसम्म वा शस्त्रत्याग नगरी गाजाबाट बाहिरिने प्रतिबद्धता नआएसम्म कारबाही रोकिने छैन।

यहीबीच, बेपत्ता र बन्धक परिवारहरूको प्रतिनिधि मञ्चले इजरायली सरकारको योजनामाथि कडा असन्तुष्टि जनाएको छ। उनीहरूले बन्धकको रिहाइभन्दा भूमि नियन्त्रणलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन्। हाल हमासको नियन्त्रणमा ५९ जना बन्धक रहेको अनुमान छ, जसमा २४ जना मात्र जीवित रहेको बताइएको छ।