भारत र पाकिस्तानबीच चुलिंदो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर चिन्तित बनाएको छ। विश्वका शीर्ष नेताहरूले वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै दुवै देशलाई संयमता अपनाउन आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत–पाकिस्तानबीचको बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई अधिकतम संयमता अपनाउन अपिल गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले नियन्त्रण रेखा तथा अन्तर्राष्ट्रिय सीमामा भारतले गरेको कारबाहीप्रति महासचिव 'अत्यधिक चिन्तित' रहेको जानकारी दिनुभयो। प्रवक्ता दुजारिकका अनुसार, महासचिवले यो सैन्य भिडन्त विश्वले सहन नसक्ने बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत–पाकिस्तानबीचको अवस्था 'लज्जास्पद' भएको टिप्पणी गर्दै यसले चाँडै अन्त्य पाउने अपेक्षा व्यक्त गर्नुभएको छ। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले तनाव न्युनीकरण आवश्यक रहेको उल्लेख गर्नुभएको हो।
त्यसैगरी, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग टेलिफोन वार्ता गर्दै संवादको ढोका खुला राख्न र थप द्वन्द्वको सम्भावना टार्न आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्रालयले रुबियोको पहल शान्तिपूर्ण समाधानको प्रयासस्वरूप भएको जनाएको छ।
छिमेकी चीनले पनि भारतको सैन्य आक्रमणप्रति 'खेद' व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेको छ। चीनले भारत र पाकिस्तानलाई शान्ति तथा स्थायित्वलाई उच्च प्राथमिकतामा राख्न सुझाएको छ।
रूस, बेलायत, फ्रान्स, अफगानिस्तानलगायतका राष्ट्रहरूले पनि हालको तनावप्रति चिन्ता जनाउँदै दुवै देशलाई संयमता र वार्तामार्फत समाधानको बाटो अपनाउन आग्रह गरेका छन्।