News Desk
काठमाडौं, वैशाख २८ | दक्षिण एशियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी देशहरू भारत र पाकिस्तान विनाशकारी युद्धको सम्भावनाबाट पछि हट्दै तत्काल युद्धविराम गर्ने सहमतिमा पुगेका छन्। शनिबार अमेरिकी मध्यस्थतामा दुवै देश तत्काल युद्ध रोक्ने र तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमतिमा पुगेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच युद्धविरामको सहमतिबारे घोषणा गरेका हुन्। ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै, “भारत र पाकिस्तानका सरकार युद्धविराम गर्न र विभिन्न मुद्दामा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्,” जानकारी दिएका छन्।
रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको "शान्ति रोज्ने बुद्धिमत्ता, विवेक र नेतृत्व क्षमताको प्रशंसा" समेत गरेका छन्।
पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि यो सहमतिप्रति पुष्टि गर्दै, “पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्ने सहमति गरेका छन्। पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं शान्ति र सुरक्षाको प्रयास गर्दै आएको छ,” बताएका छन्।
युद्धविराम सम्बन्धी सहमतिलाई भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि पुष्टि गरेका छन्। उनले शनिबार साँझ ५ बजेदेखि जल, थल र आकाशमार्गमा सबै सैन्य गतिविधि र गोलीबारी बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।
“पाकिस्तानी सेनाका मिलिटरी अपरेसनका डाइरेक्टर जनरलले भारतीय समकक्षीलाई शनिबार ३:३५ बजे फोन गरेर कुरा गरेका थिए। दुवै पक्षले भारतीय समयअनुसार साँझ ५ बजेदेखि युद्धविरामको कार्यान्वयन गर्ने सहमति जनाएका छन्,” मिश्रीले बताए।
उनका अनुसार आगामी मे १२ तारिखका दिन मध्यान्ह १२ बजे दुवै पक्षबीच पुन: संवाद हुने तय भएको छ।
रुबियोले दिएको जानकारीअनुसार, अमेरिका–भारत–पाकिस्तान त्रिपक्षीय समन्वय अन्तर्गत अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतीय विदेशमन्त्री एस जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर, र दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा असिम मलिकसँग सम्पर्क गरेका थिए।
यो सहमति दुई देशबीचको तनाव कम गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।