भारतको स्पष्ट भनाइ : युद्धविरामबारे अमेरिकी दाबीमा दुई बुँदामा असहमति
News Desk
May-11 , 2025 तारिख 05:54 बिहान

भारत र पाकिस्तानबीच हालै भएको युद्धविरामको सहमतिसम्बन्धी अमेरिकी विदेशमन्त्री मार्को रुबियोका केही दाबीहरूप्रति भारतले आपत्ति जनाउँदै स्पष्ट असहमति जनाएको छ।

रुबियोले आफू र उपराष्ट्रपति जेडी भान्सले दुवै देशसँग संवाद गरेर भारत र पाकिस्तानलाई वार्तामा ल्याएको संकेत गरेका थिए। तर, भारतीय अधिकारीहरूले भने युद्धविरामसम्बन्धी सहमति पूर्णतः भारत–पाकिस्तानबीचको ‘सोझो संवाद’बाट भएको प्रस्ट पारेका छन्।

भारतीय सञ्चारमाध्यमहरूले सरकारी स्रोतलाई उद्धृत गर्दै लेखेका छन्, “भारत र पाकिस्तानबीच गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति कुनै तेस्रो पक्षको मध्यस्थता नभई दुवै देशबीच सिधा संवादबाट भएको हो।”

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि “भारत र पाकिस्तानले आज गोलीबारी र सैन्य कारबाही स्थगनको समझदारी गरेका छन्,” भन्दै रुबियोको भूमिकालाई व्याख्या नगरेको उल्लेख गरिएको छ।

भारतको असहमतिको दोस्रो बुँदा भनेको वार्ताको स्थान हो। रुबियोले दुबै पक्ष तटस्थ स्थानमा वार्ताका लागि सहमत भएको बताएका थिए। तर, भारतीय सूचना तथा प्रसारण मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै “अन्य कुनै विषयमा तटस्थ स्थान वा तेस्रो मुलुकमा वार्ता गर्ने सहमति भएको छैन” भन्ने स्पष्ट पारेको छ।

भारतले अमेरिकाले प्रस्तुत गरेको विवरणको केही अंश वास्तविकतासँग मेल नखाने बताउँदै द्विपक्षीय वार्ता प्रक्रिया आफ्नो पहलमै अघि बढेको दाबी गरेको हो।

धेरै पढिएको