गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २८ जनाको गयो ज्यान
News Desk
May-15 , 2025 तारिख 06:19 बिहान

गाजाको खान युनिसस्थित युरोपेली अस्पतालमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ भने थुप्रै मानिसहरू घाइते भएका छन्।

हमास नियन्त्रित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ताले अस्पतालमाथिको आक्रमण पुष्टि गर्दै ठूलो मानवीय क्षति भएको बताएका छन्। प्रत्यक्षदर्शी र स्थानीय स्रोतका अनुसार इजरायली युद्ध विमानहरूले अस्पताल परिसर र आसपासका क्षेत्रमा छ वटा बम खसालेका थिए, जसले संरचना ध्वस्त मात्र होइन, त्रास फैलाएको छ।

इजरायली सेनाले भने हमासको ‘कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ अस्पतालमुनि रहेको भन्दै सोही आधारमा लक्षित हमला गरिएको दाबी गरेको छ।

यस बम आक्रमणमा गाजामा कार्यरत एक स्वतन्त्र पत्रकार, जो बीबीसीका लागि रिपोर्टिङ गरिरहेका थिए, समेत घाइते भएका छन्। उनको अवस्था अहिले स्थिर रहेको जनाइएको छ।

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ बाट जारी द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको पुष्टि अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका छन्।

धेरै पढिएको