News Desk
मध्यपूर्व भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको रियादमा सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शारासँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ। उक्त अवसरमा साउदी राजकुमार मोहम्मद बिन सलमानको उपस्थिति रहेको थियो भने टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोआनले भिडियो लिङ्कमार्फत सहभागिता जनाएका थिए, बीबीसीले जनाएको छ।
ध्यान दिने कुरा के छ भने अमेरिकाले केही महिनाअघि मात्रै अल शाराको गिरफ्तारीका लागि एक करोड डलर इनाम तोकेको थियो। तर पछिल्लो घटनाक्रमले सिरियासँग अमेरिकाको सम्बन्ध नयाँ दिशामा उन्मुख भएको संकेत गरेको छ।
यसअघि साउदी लगानी मञ्चमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले सिरियामाथि लामो समयदेखि लगाइएका अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गरेका थिए। उनले उक्त निर्णय राजकुमार सलमान र राष्ट्रपति एर्दोआनसँगको परामर्शपछि लिएको स्पष्ट पारेका छन्।
सिरियामा १३ वर्ष लामो गृहयुद्धको अन्त्य गत वर्षको डिसेम्बरमा भएको थियो, जब तत्कालीन राष्ट्रपति बसर अल असदको शासन पतन भयो। असदको पतन इरानका लागि रणनीतिक झट्का भएको विश्लेषकहरूको भनाइ छ भने साउदी अरबले यसलाई आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी इरानको प्रभाव कम गर्ने अवसरका रूपमा हेरेको छ।
राष्ट्रपति ट्रम्पको प्रतिबन्ध फुकुवा गर्ने निर्णयले युद्धबाट थिलथिलो बनेको सिरियाली अर्थतन्त्रलाई पुनर्जीवन दिने आशा गरिएको छ। यस कदमलाई संयुक्त राष्ट्रसंघका विशेष दूत गेइर पेडरसनले स्वागत गर्दै सिरियाको स्थायीत्वतर्फको सकारात्मक संकेत भनेका छन्।
बेलायत र यूरोपेली संघले यसअघि नै केही प्रतिबन्ध हटाइसकेका थिए, र अमेरिकाको पछिल्लो निर्णयले अझ व्यापक असर पार्ने विश्वास गरिएको छ। ट्रम्पको घोषणालाई सिरियाली जनताले सडकमा निस्केर उल्लासपूर्वक स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
तर अर्कोतर्फ, सिरियामा आफ्नो सैन्य प्रभाव विस्तार गरिरहेको इजरायलका लागि भने यो घटनाक्रम चुनौतीपूर्ण बन्न सक्ने सीएनएनको टिप्पणी छ।