रूस–युक्रेन युद्धबन्दी सन्धिपछि केही घण्टामै ड्रोन आक्रमण, ९ सर्वसाधारणको मृत्यु
News Desk
May-19 , 2025 तारिख 06:33 बिहान

काठमाडौँ – युद्धबन्दी आदानप्रदानको सहमतिपछि केही घण्टामै उत्तरपूर्वी युक्रेनमा रूसी ड्रोन आक्रमणमा नौ सर्वसाधारणको ज्यान गएको छ।

युक्रेनी सैनिक अधिकारीहरूका अनुसार शनिबार बिहान सुमी क्षेत्रको बिलोपिलिया शहरमा भएको हमलामा सात जना घाइते भएका छन्।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिविहाले आक्रमणलाई “नृशंस युद्ध अपराध” भन्दै कडा निन्दा गर्नुभएको छ।

यसअघि, युद्ध सुरु भएयता पहिलोपटक प्रत्यक्ष वार्तामा बसेका रूस र युक्रेनबीच एक हजार युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको थियो। उक्त सहमतिलाई युद्धकालीन एक महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ।

युक्रेनी वार्ता टोलीका प्रमुख तथा रक्षामन्त्री रुस्तम उमेरोभले बन्दी साटासाट प्रक्रिया चाँडै कार्यान्वयनमा आउने आशा व्यक्त गर्दै, अबको वार्ता राष्ट्रपतिहरू स्तरमा हुनु पर्नेमा जोड दिनुभएको छ।

प्रत्यक्ष वार्ता सन् २०२२ को मार्चपछि पहिलो पटक टर्कीको इस्तानबुलस्थित ओटोमन साम्राज्यकालीन दरबारमा भएको हो। यो वार्ता टर्की र अमेरिकाको पहलमा सम्भव भएको बताइएको छ।

वार्तामा सहभागी रूस र युक्रेनका अधिकारीहरूले औपचारिक रूपमा हात नमिलाएको जनाइएको छ। युक्रेनी प्रतिनिधिमण्डलका केही सदस्यले आफ्नो देशमाथिको रूसी आक्रमणको संकेत झल्किने पोशाक लगाएका थिए।

धेरै पढिएको