News Desk
यस वर्षको मिस वर्ल्ड प्रतियोगिता भारतको तेलंगानास्थित राजधानी हैदराबादमा आयोजना हुँदैछ। तर प्रतियोगिता सुरु हुनु अघि नै यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता विवादमा मुछिएको छ।
मिस इङ्ग्ल्यान्ड २०२५ की विजेता मिला म्यागीले प्रतियोगितामै सहभागी भएपछि आफूले अमानवीय व्यवहारको सामना गर्नुपरेको आरोप लगाएकी छिन्। बेलायती ट्याब्लोइड द सन लाई दिएको अन्तर्वार्तामा उनले आयोजकहरूलाई गम्भीर आरोप लगाउँदै भनिन्, “म त्यहाँ उदाहरण बन्न गएकी थिएँ, तर मलाई खेलौनाजस्तो व्यवहार गरियो। आयोजकहरूले मलाई वेश्याजस्तो महसुस गराए।”
उनका अनुसार, प्रतियोगिताको एक कार्यक्रममा सहभागीहरूलाई धनी प्रायोजकहरूसामु 'घुमाइएको' थियो। उनले कार्यक्रम छोड्नुको कारण यही अनुभव भएको बताएकी छन्।
यस घटनापछि तेलंगाना सरकारले तत्काल अनुसन्धान सुरु गरेको छ। अनुसन्धानको नेतृत्व वरिष्ठ आईपीएस अधिकारी शिखा गोयल, आईपीएस रमा राजेश्वरी र साइबराबादकी डीसीपी साईश्रीले गरिरहेका छन्। टोलीले प्रतियोगितामा अन्य सहभागीहरूसँग पनि बयान लिँदै घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको छ।
यसबीच मिस वर्ल्ड संगठनले आधिकारिक प्रतिक्रिया दिँदै म्यागीका आरोपहरू असत्य भएको बताएको छ। संगठनकी अध्यक्ष जुलिया मोर्लीको नाममा जारी विज्ञप्तिमा भनिएको छ, “हामी पत्रकारिताका आधारभूत मान्यताहरू पालना गर्न मिडियालाई आग्रह गर्छौं। कुनै भ्रामक समाचार नफैलाउन अनुरोध गर्दछौं।”
संगठनले एक भिडियो पनि सार्वजनिक गरेको छ, जसमा म्यागीले आफू प्रतियोगितामा ठिक रहेको बताएको देखिन्छ। भिडियोमा उनले सहभागी भएको राज्य रात्रिभोजमा शालीन वातावरण देखिएको छ, जहाँ उनी महिला सहभागीहरूबीच बसेकी छिन्।
हाल म्यागीले प्रतियोगिता छाडेपछि अब मिस इङ्ग्ल्यान्डको प्रतिनिधित्व उपविजेता चार्लोट ग्रान्टले गर्ने भएकी छन्।
यो विवादले मिस वर्ल्डजस्तो प्रतिष्ठित प्रतियोगितामा पारदर्शिता र सुरक्षा सुनिश्चित गर्न थप प्रश्नहरू उठाएको छ।