News Desk
वाशिङ्टन डीसी | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र अर्बपति उद्यमी इलोन मस्कले ट्रम्प नेतृत्वको रिपब्लिकन बहुमत संसद्ले अघि सारेको कर कटौती तथा खर्चसम्बन्धी विधेयकमाथि सार्वजनिक रूपमा तीव्र आलोचना गर्नुभएको छ।
मंगलबार सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा एक पोस्ट गर्दै टेस्ला तथा एक्स स्पेसका प्रमुख मस्कले लेख्नुभएको छ, ँमाफी चाहन्छु, तर अब सहन सक्दिनँ। यो विधेयक अत्यन्तै घृणास्पद छ,ँ भन्दै आक्रोश पोख्नुभएको हो।
उहाँले आफ्नो पोस्टमा यस विधेयकलाई समर्थन गर्ने सांसदहरूलाई “लाज मान्नुपर्ने” चेतावनी दिनुभयो। मस्कको ठम्याइमा यो विधेयकले अमेरिकी बजेट घाटालाई भयावह रूपमा बढाउनेछ र साधारण नागरिकमाथि ऋणको थप बोझ थोपर्नेछ।
गत महिना तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले एक मतको झिनो अन्तरले सो विधेयक पारित गरेको थियो। अब आगामी महिनामा सिनेटबाट यसले पारित हुने अपेक्षा गरिएको छ। तर, केही रिपब्लिकन सिनेटरहरूले खर्च सम्बन्धी व्यवस्थामाथि आपत्ति जनाउँदै संशोधनको प्रस्ताव ल्याउने तयारीमा छन।
स्मरण रहोस्, दुवै सदनमा हाल रिपब्लिकन पार्टीको बहुमत छ।
पूर्व राष्ट्रपति ट्रम्पले ‘बिग ब्युटिफुल बिल’ भन्दै प्रचार गरेको यो विधेयकमा दशौं खर्ब डलर बराबरको कर छुट, रक्षा खर्चमा ठूलो वृद्धि, र अवैध आप्रवासी निष्कासनका लागि थप बजेट विनियोजन गरिएको छ। साथै, यसले संघीय सरकारको ऋण सीमा ४० खर्ब डलरसम्म पुर्याउने प्रस्ताव गरेको छ।
तर, बजेट घाटा सम्हाल्न भन्दै स्वास्थ्य, खाद्य सहायता र वैदेशिक सहयोग कार्यक्रमहरूमा कटौती गरिएको देखिन्छ। तथापि, वित्तीय विश्लेषकहरूले यो विधेयकले मात्रै आगामी वर्षमा ६ खर्ब डलरभन्दा बढी घाटा थपिने प्रक्षेपण गरेका छन।
त्यस्तै, अहिले संघीय सरकारको कुल ऋण ३६२ खर्ब डलरमा पुगेकोमा, यो विधेयक कार्यान्वयन भएमा थप ३८ खर्ब ऋण थपिने पनि अनुमान गरिएको छ।
चार दिनअघि मात्रै सरकारी खर्चसम्बन्धी विवादित विभाग डिपार्टमेन्ट अफ जस्टिस ओभरसाइट (डोजो) को प्रमुख पदबाट हटाइएका मस्कले ट्रम्पमाथि यति खुला असहमति प्रकट गर्नु यो पहिलोपटक हो। यद्यपि अघिल्लो महिनादेखि नै उहाँले बजेट घाटालाई नियन्त्रणबाहिर लैजाने दिशामा ट्रम्प प्रशासन अघि बढेको भन्दै असन्तोष व्यक्त गर्दै आउनुभएको थियो।
मस्कको यो भनाइले ट्रम्पको आर्थीक नीतिमाथि पुनः बहसको वातावरण बनाएको छ, जहाँ पार्टीभित्रैबाट बढ्दो असहमति र आलोचनाका स्वरहरू पनि देखिन थालेका छन।