News Desk
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व प्रसिद्ध उद्यमी एलन मस्कले ‘सोच्ने शक्ति गुमाएको’ बताएका छन। विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको विवादले विश्वलाई राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ।
ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता नगर्ने बताएका छन। ट्रम्पले पत्रकारहरूसँग भने, “म चीन, रूस, इरानसँगको छलफलमा व्यस्त छु। मैले एलन मस्कका बारेमा सोचेको छैन।”
रिपब्लिकन नेता ७८ वर्षीय राष्ट्रपति ट्रम्पले निकट मित्रबाट शत्रु बनेका दक्षिण अफ्रिकी मूलका आफ्ना पूर्व सहयोगीलाई निशाना बनाउन छोडेनन। मस्कको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले एबीसीसँगको कुराकानीमा भने, “तपाईंको मतलब ‘सोच्ने शक्ति गुमाएको मान्छे’सँग कुरा गर्न ‘खासै’ इच्छुक छैन।”
ट्रम्पले पछि फक्स न्यूजसँग भने, “मस्कले सोच्ने शक्ति गुमाउनुभएको छ।” उनीहरूबीच विवाद चुलिएपछि तथाकथित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डिओजिई)’ मा चार महिना काम गरेपछि मस्कले एक साताअघि बिदा लिने निर्णय गरेका थिए।
मस्कले गत मङ्गलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि ट्रम्पले बिहीबार आफ्नो कार्यालय (ओभल अफिस)बाट जवाफ दिँदै मस्कबाट आफू ‘धेरै निराश’ भएको बताएका थिए। ट्रम्पको खर्च विधेयकले कंग्रेसमार्फत कठिन मार्गको सामना गरिरहेको छ।
यसले अमेरिकी घाटा बढाउने र लाखौं गरिब अमेरिकीको स्वास्थ्य सेवामा कटौती गर्ने आलोचकले बताएका छन। अमेरिकी राष्ट्रपति ट्रम्पले स्पेस एक्सका प्रमुखको अर्बौं डलरको रकेट र स्याटेलाइट सम्झौता रद्द गर्न सक्ने चेतावनी दिएका छन।