News Desk
काठमाडौं । युक्रेनको खार्किभ सहरमा रूसले हालसम्मकै सबैभन्दा भीषण ड्रोन आक्रमण गरेको छ, जसमा तीन जनाले ज्यान गुमाएका छन् भने २१ जना घाइते भएका छन्।
शुक्रबार रातभर चलेको उक्त आक्रमणमा रूसी सेनाले कुल २१५ वटा मिसाइल र ड्रोन प्रहार गरेको बताइएको छ। युक्रेनी हवाई सेनाका अनुसार, तीमध्ये ८७ ड्रोन र ७ मिसाइल आकाशमै ध्वस्त पारिएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था अल जजीराका अनुसार, यो आक्रमण रूसी सेनाले युक्रेनले गत हप्ता गरेको ड्रोन आक्रमणको जवाफस्वरूप गरेको हो।
‘स्पाइडर्स वेब अपरेसन’ नाम दिइएको युक्रेनी आक्रमणमा आइतबार युक्रेनी सेनाले रूसका चारवटा सैन्य आधारस्थलमा हमला गरेर ४० वटा युद्धक विमान ध्वस्त पारेको दाबी गरेको थियो।
खार्किभका मेयर इगोर तेरेखोभका अनुसार, शुक्रबार रातिको हमला सन् २०२२ को फेब्रुअरीदेखि हालसम्म रूसले गरेको सबैभन्दा ठूलो हमला हो, जब रूसले युक्रेनविरुद्ध पूर्ण युद्ध सुरु गरेको थियो।
यसबीच, रूस–युक्रेनबीच पूर्वघोषित युद्धबन्दी आदानप्रदान अनिश्चितकालका लागि स्थगित गरिएको छ। रूसी राष्ट्रपति पुटिनका प्रमुख सहयोगी भ्लादिमिर मेडिनस्कीले यसमा युक्रेनकै गल्ती रहेको आरोप लगाएका छन्। यद्यपि, युक्रेनले औपचारिक प्रतिक्रिया दिएको छैन।
टर्कीको इस्तानबुलमा हालै सम्पन्न वार्तामा दुबै पक्षबीच युद्धबन्दी आदानप्रदान गर्ने सहमति भएको थियो। युक्रेनी सञ्चारमाध्यमका अनुसार, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कम्तीमा ५ सय युक्रेनी बन्दी स्वदेश फर्किने योजना रहेको बताएका थिए।