News Desk
लस एन्जलस, अमेरिका |अमेरिकाको लस एन्जलस सहर आप्रवासीसँग सम्बन्धित घटनाक्रमका कारण चर्को तनावमा परेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिति नियन्त्रण गर्न २ हजार नेशनल गार्ड खटाउने निर्णय गरेका छन्।
ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "हिंसात्मक प्रदर्शन र संघीय तथा स्थानीय अधिकारीहरूमाथि आक्रमण भइरहेको अवस्थामा सुरक्षाको सुनिश्चितता अत्यावश्यक छ," भन्दै ट्रम्पले गार्ड परिचालन गर्न आदेश दिएको उल्लेख गरिएको छ।
राष्ट्रपतिको सीमा सुरक्षा प्रमुख टम होमनले लस एन्जलसको सुरक्षा अवस्था खतरनाक बन्दै गएको भन्दै "यथेष्ट संख्यामा नेशनल गार्ड तैनाथ गरिएको" जानकारी दिए।
शनिबार पनि लस एन्जलस विशेषगरी लेटिनो समुदाय बहुल प्यारामाउन्ट क्षेत्रमा स्थिति तनावपूर्ण रह्यो। आप्रवासन तथा सीमा नियन्त्रण एजेन्सी (ICE) र स्थानीय बासिन्दाबीच प्रत्यक्ष झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी चार्ज गर्नु परेको छ। घटनामा कम्तीमा ११८ जनालाई ICE ले पक्राउ गरेको छ।
क्यालिफोर्नियाका गभर्नर ग्याविन न्यूसमले भने सरकारको कारबाहीलाई "अनावश्यक रूपमा क्रूर र अमानवीय" भन्दै कडा आलोचना गरेका छन्।
प्यारामाउन्ट क्षेत्रमा झडप अझै पूर्ण रूपमा रोकिएको छैन। उल्लेखनीय छ, उक्त क्षेत्रमा ८० प्रतिशतभन्दा बढी जनसंख्या हिस्प्यानिक/लेटिनो समुदायका छन्।
स्थानीय मानवअधिकार संघसंस्थाहरूले शान्तिपूर्ण समाधानको माग गर्दै सरकारसँग संवाद थाल्न आग्रह गरेका छन्।