News Desk
वासिङ्टन डीसी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूविरुद्ध देशभरि व्यापक विरोध प्रदर्शनहरू भएका छन्। ‘नो किङ्स र्याली’ शीर्षकमा आयोजित यी प्रदर्शनहरू शनिबार अमेरिका भरिका दुई हजारभन्दा बढी स्थानमा सम्पन्न भएका हुन्। सीएनएनका अनुसार, प्रदर्शनहरूमध्ये अधिकांश शान्तिपूर्ण रहे।
लस एन्जलस, लास भेगास, न्यूयोर्क सिटी, सियाटल, पोर्टल्यान्ड, अस्टिन, शिकागो, फिलाडेल्फिया, डेकलाब-जोर्जिया र कलपेपर–भर्जिनिया लगायत प्रमुख शहरहरूमा हजारौं नागरिकले सहभागी जनाएका थिए।
यद्यपि केही ठाउँमा अवस्था तनावपूर्ण बनेको थियो। लास भेगासमा प्रदर्शन नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले १५ प्रदर्शनकारीलाई गिरफ्तार गरेका छन्।
राष्ट्रपति ट्रम्पले सत्तारूढ भएको जनवरीयता आयोजित यो सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको रोयटर्सले जनाएको छ। लस एन्जलसमा खासगरी अमेरिकी अध्यागमन तथा भिसा प्रवर्तन संस्था (ICE) को कडा अभियानपछि स्थिति अशान्त बनेको छ। प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप पनि भएको जनाइएको छ। स्थिति नियन्त्रणमा लिन रात्रिकालीन कर्फ्युसमेत लगाइएको थियो।
यसैबीच राष्ट्रपति ट्रम्पले राजधानी वासिङ्टन डीसीमा आयोजित अमेरिकी सेनाको २५०औं स्थापना दिवसको परेडमा अध्यक्षता गरेका छन्। भव्य परेड कार्यक्रममार्फत अमेरिकी सेनाले आफ्नो शक्ति प्रदर्शन गरेको हो। संयोगवश, यही दिन ट्रम्पको ७९औं जन्मदिनसमेत परेको थियो।
राष्ट्रपति ट्रम्पले उक्त परेडलाई "एतिहासिक र अविस्मरणीय" भन्दै प्रशंसा गरे। तर उनका आलोचकहरूले भने ट्रम्पको यो कार्यलाई "अहंकारमा डुबेको शाही प्रवृत्तिको झल्को" भन्दै कडा आलोचना गरेका छन्। अल जजीराका अनुसार केही विश्लेषकहरूले ट्रम्पलाई "स्वयंलाई राजा ठानेको नेता" को संज्ञा दिएका छन्।