इजरायल–इरान युद्धको चौथो दिन : आक्रमण थप उग्र, सयौंको मृत्यु
News Desk
Jun-17 , 2025 तारिख 05:33 बिहान

इजरायल र इरानबीचको द्वन्द्व चौथो दिनमा पनि रोकिएको छैन। सोमबार इजरायलले इरानको पश्चिमी क्षेत्रमा आक्रमण गर्दा स्थानीय अस्पतालमा क्षति पुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

उता, इजरायली सेनाले राजधानी तेहरानको आकाश क्षेत्रमा पूर्ण नियन्त्रण रहेको दाबी गर्दै आक्रमण जारी राखेको जनाएको छ। रातभर दुवै देशले आकाश–जमिनमार्फत एकअर्कामाथि आक्रमण गरिरहेका थिए।

गए राति इरानले इजरायलको तेल अभिभ र तटीय सहर हाइफालाई लक्ष्य गर्दै गरेको हमलामा कम्तीमा ८ जनाको ज्यान गएको जनाइएको छ। शुक्रबारदेखि इरानको आक्रमणमा परी मृत्यु हुने इजरायलीको संख्या २४ पुगेको छ।

त्यस्तै, इजरायलले इरानमा गरिरहेको आक्रमण पनि उस्तै घातक बनिरहेको छ। पछिल्लो हमलामा इरानी सेनाको विशेष शाखा इस्लामिक रेभोल्युसनरी गार्ड कोर (IRGC) का गुप्तचर प्रमुखसहित चार जना वरिष्ठ अधिकारी मारिएको इरानले जनाएको छ। शुक्रबार यता इजरायली आक्रमणमा २२४ जनाको मृत्यु भएको जानकारी पनि सार्वजनिक गरिएको छ।

इरानी मिसाइल आक्रमणका कारण तेल अभिभस्थित अमेरिकी दूतावासको एउटा शाखा भवनमा सामान्य क्षति पुगेको बताइएको छ।

यसबीच, अमेरिकी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इजरायली सुरक्षा निकायले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खमेनीमाथि लक्षित हत्या योजना बनाएको तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा स्वीकृति नदिएको उल्लेख गरेका छन्। रोयटर्स, सीएनएसीबीएस न्यूज ले स्रोत उद्धृत गर्दै यो समाचार प्रसारण गरेका हुन्। सीएनएनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने उक्त योजनाबारे कुनै सत्यता नभएको दाबी गरेका छन्।

इजरायली आक्रमण सुरु भएलगत्तै राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतन्याहूबीच संवाद भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्यूज ले उल्लेख गरेको छ। उता, इरान इन्टरनेशनलका अनुसार आक्रमणपछि खमेनीलाई उत्तरपूर्वी इरानस्थित सुरक्षित बंकरमा सारिएको छ। उनीसँग उनका छोरा मोजतबा तथा अन्य पारिवारिक सदस्यहरू पनि त्यहीँ बस्दै आएका छन्।

युद्ध चर्किंदै जाँदा विभिन्न देशहरूले इजरायल तथा इरानबाट आफ्ना नागरिकको उद्धार सुरु गरेका छन्। पोल्यान्डले एक–दुई दिनभित्र करिब २०० नागरिकलाई इजरायलबाट फिर्ता ल्याउने तयारी गरिरहेको छ। भारतले भने इरानमा रहेका १,५०० विद्यार्थीलाई राजधानी तेहरानबाट १४८ किलोमिटर पर रहेको कोम शहरमा सार्न लागिएको भारतीय मिडियाहरूले जनाएका छन्।

धेरै पढिएको