इरान–इजरायल युद्ध छ दिनदेखि तीव्र, अमेरिकी संलग्नताबारे त्रिपक्षीय चेतावनी
News Desk
Jun-19 , 2025 तारिख 06:03 बिहान

मध्यपूर्वमा इरान र इजरायलबीच जारी घातक द्वन्द्व छैटौं दिन प्रवेश गरिसकेको छ। युद्धले गम्भीर मोड लिँदै गर्दा अमेरिकाको सम्भावित संलग्नताबारे विभिन्न पक्षले कडा चेतावनी दिएका छन्।

इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले अमेरिकी हस्तक्षेप भए त्यसको परिणाम अपूरणीय क्षति हुने दाबी गर्दै, राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्नुभएको छ। उहाँले इरान कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट सन्देश दिएका छन्।

त्यसको केही समयअघि मात्र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गर्दै इरानलाई ‘निशर्त आत्मसमर्पण’को चेतावनी दिएका थिए। उनले इरानमाथि अमेरिकी धैर्यको सीमा सकिँदै गएको भन्दै खामेनी कहाँ लुकेर बसेका छन् भन्ने जानकारी आफूलाई भएको तर हाललाई उनलाई समाप्त पार्ने कुनै योजना नरहेको उल्लेख गरेका छन्।

अर्कोतर्फ, रूसले पनि अमेरिकालाई चेतावनी दिँदै द्वन्द्वमा प्रत्यक्ष रूपमा इजरायललाई सहयोग गरे स्थिति अझ भयावह बन्ने संकेत दिएको छ। रुसी उपविदेशमन्त्री सेर्गेइ र्‍यादकोभले मध्यपूर्वको स्थायित्व गुम्नसक्ने भन्दै गम्भीर चासो व्यक्त गरेका छन्। उनले मस्को र वासिंगटनबीच निरन्तर संवाद भइरहेको जनाएका छन्।

यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकी संलग्नताबारे राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग आकस्मिक बैठक बोलाएर करिब डेढ घण्टा छलफल गर्नुभएको थियो। तर बैठकमा अमेरिकाको संलग्नता सम्बन्धी राय एकमत देखिएन। यदि अमेरिका युद्धमा सहभागी हुने निर्णयमा पुग्यो भने, इरानको भूमिगत फोर्दो परमाणु केन्द्र मुख्य निशाना बन्न सक्ने अनुमान गरिएको छ।

जानकारहरूका अनुसार सो केन्द्रलाई ध्वस्त पार्न ३० हजार पाउण्ड क्षमताको शक्तिशाली बम आवश्यक पर्छ, जुन अमेरिका पासमा रहेको बताइएको छ। फोर्दो केन्द्र अन्तर्राष्ट्रिय समुदायका लागि लामो समयदेखि चिन्ताको विषय रहँदै आएको छ, र इरान परमाणु बम निर्माणको नजिक पुगेको आशंका पनि व्यक्त हुँदै आएको छ।

यसैबीच, युद्धमैदानमा आक्रमण र प्रतिआक्रमण जारी छन्। इरानले बुधबार बिहान दुई चरणमा इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। हाइपरसोनिक ‘फताह वन’ क्षेप्यास्त्र समेत प्रयोग गरिएको र तेल अविबमा शक्तिशाली विस्फोटको आवाज सुनिएको रिपोर्टहरूमा उल्लेख छ।

इजरायली सेनाले पनि तेहरानस्थित इरानी सैन्य ठेगाना र हतियार भण्डारण केन्द्रहरूमा आक्रमण गरेको पुष्टि गरेको छ। बुधबार रातिको आक्रमणमा ५० भन्दा बढी लडाकु विमान प्रयोग गरिएको जनाइएको छ, जसमा दुई वटा यूरेनियम प्रवर्धन केन्द्रलाई लक्षित गरिएको थियो।

इरान र इजरायलबीचको यो बढ्दो तनावले सम्पूर्ण क्षेत्रीय सुरक्षालाई नै जोखिममा पारेको विश्लेषकहरूले बताएका छन्।

 

धेरै पढिएको