News Desk
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले यदि इरानमाथि आक्रमण गरेमा त्यसको जवाफ अपूरणीय क्षतिको रूपमा दिने स्पष्ट चेतावनी दिएका छन्।
बुधवार जारी विज्ञप्तिमा खामेनीले उल्लेख गरेका छन्, “अमेरिकाले गर्ने कुनै पनि सैन्य हस्तक्षेपको प्रतिउत्तर निश्चय नै गम्भीर र अपूरणीय क्षतिमा परिणत हुनेछ।”
खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेताउँदै भनेका छन्, “इरानीहरू आत्मसमर्पण गर्ने राष्ट्र होइनन्। धम्कीको भाषा प्रयोग गरेर हामीलाई दबाउन खोज्नु व्यर्थ छ।”
उनले थप प्रस्ट्याए, “जो कोहीले इरान र यसको इतिहास राम्रोसँग बुझेका छन्, उनीहरू कहिल्यै धम्कीको भाषा प्रयोग गर्दैनन्। अमेरिकाले यस्तो व्यवहार त्यस्ता देशसँग गर्न सक्छ, जो डरले झुक्छन्। तर इरानी जनता त्यस्ता होइनन् – उनीहरू न धम्कीमा झुक्छन्, न आत्मसमर्पण गर्छन्।”
यसअघि मंगलबार राति अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा लेख्दै इरानलाई 'निःसर्त आत्मसमर्पण' गर्न चेतावनी दिएका थिए।
साथै उनले इरानका सर्वोच्च नेता खामेनीप्रति इङ्गित गर्दै भनेका थिए, “हामीलाई राम्ररी थाहा छ उनी कहाँ लुकेका छन्। उनी सजिलो निशाना हुन्, तर अहिलेका लागि सुरक्षित छन्। हामीले हालका लागि उनीमाथि आक्रमण गर्ने योजना बनाएका छैनौं।”
खामेनी र ट्रम्पबीचको यो कडा बयानबाजीले इरान–अमेरिका सम्बन्धमा थप तनाव सिर्जना गरेको छ, जुन इजरायल–इरानबीच जारी सैन्य झडपसँग पनि प्रत्यक्ष जोडिएको देखिन्छ।