इरान र इजरायलबीच चर्किँदै गएको तनावका बीच, जर्मनी, फ्रान्स र बेलायतका विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग जेनेभामा वार्ता गर्ने तयारी
News Desk
Jun-20 , 2025 तारिख 06:53 बिहान

इरान र इजरायलबीच चर्किँदै गएको तनावका बीच, जर्मनी, फ्रान्स र बेलायतका विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग जेनेभामा वार्ता गर्ने तयारी गरिरहेका छन्। वार्ता भोलि हुने तय भएको छ।

जर्मन कूटनीतिक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको अनुसार, यी तीन युरोपेली विदेशमन्त्रीहरूले संयुक्त बैठक अघि युरोपेली संघका वरिष्ठ कूटनीतिज्ञ काजा कालाससँग जर्मनीको स्थायी नियोग, जेनेभामा परामर्श गर्ने कार्यक्रम रहेको छ।

इजरायल–इरानको सशस्त्र झडप गम्भीर युद्धमा रुपान्तरण हुने जोखिमबीच, युरोपेली नेताहरूले समाधानका लागि पहल थालेका हुन्। इरानी विदेशमन्त्री अब्बास अरागचीले पनि जेनेभामा हुने वार्तामा सहभागी हुने पुष्टि गरेका छन्, स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सम्भावित अमेरिकी संलग्नता स्पष्ट नगर्दा परिस्थिति झन् जटिल बन्दै गएको विश्लेषण गरिएको छ। बीबीसीका अनुसार, ट्रम्पले इरानमाथिको सम्भावित आक्रमण योजनालाई सैद्धान्तिक स्वीकृति दिइसके पनि अन्तिम निर्णय लिएका छैनन्।

जर्मनीका कूटनीतिक स्रोतका अनुसार, अमेरिकासँगको समन्वयमा आयोजना हुन लागेको यो वार्ताले इरानलाई आफ्ना परमाणु गतिविधि शान्तिपूर्ण र सार्वजनिक प्रयोजनका लागि मात्र सीमित राख्न सहमत गराउने उद्देश्य राखेको छ। मन्त्रीस्तरीय छलफल सकारात्मक भएमा, आगामी चरणमा विशेषज्ञस्तरीय वार्ता आयोजना गरिने योजना छ।

इरानले बारम्बार आफ्ना परमाणु कार्यक्रम सैन्य प्रयोजनका लागि नभएको दाबी गर्दै आएको छ भने इजरायले भने इरानको सम्भावित हतियार विकास क्षमतालाई नियन्त्रणमा लिन आफैंले आक्रमण सुरु गर्नु परेको तर्क गर्दै आएको छ।

गत शुक्रबार इजरायली आक्रमण सुरु भएपछि आइतबार तय भएको अमेरिका–इरान वार्ता स्थगित भएको थियो। इरानलाई परमाणु हतियार नबनाउने प्रतिबद्धतामा बाँध्न अमेरिका र युरोपका प्रमुख देशहरू एकमतमा देखिएका छन्।

हालै सम्पन्न ‘जी–७’ शिखर सम्मेलनमा पनि इजरायलको आत्मरक्षाको अधिकारलाई समर्थन गर्दै इरानमाथि मध्यपूर्वमा अशान्ति र आतंक फैलाउने आरोप लगाइएको थियो।

 

धेरै पढिएको