News Desk
बिहीवार दक्षिणी इजरायलमा रहेको एक अस्पतालमाथि इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले त्यसको गम्भीर प्रतिघात हुने चेतावनी दिएका छन्।
एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै प्रधानमन्त्री नेतन्याहूले लेखे, “आज बिहान इरानका आतङ्ककारी शासकहरूले सोरोका अस्पताल र त्यहाँका नागरिकहरूलाई निशाना बनाउँदै क्षेप्यास्त्र प्रहार गरेका छन्। हामी तानाशाहहरूलाई तेहरानमै गएर त्यसको उच्च मूल्य चुकाउन बाध्य पार्नेछौँ।”
दक्षिण इजरायलको बेर्शेबा शहरस्थित सोरोका अस्पतालमा बिहीवार बिहान दर्जनौँ ब्यालेस्टिक मिसाइल प्रहार भएपछि आगलागी भएको थियो।
अस्पतालका निर्देशक श्लोमी कोदेशका अनुसार आक्रमण सर्जिकल भवनमा भएको थियो, जुन केही दिनअगाडि खाली गरिसकिएको थियो। तर विस्फोटका कारण ४० जना घाइते भएका छन्।
उनले थप जानकारी दिँदै भने, “धेरैजसो वार्ड पूर्ण रूपमा ध्वस्त भएका छन्। अस्पतालका विभिन्न भवन, झ्याल, छाना लगायतका संरचनामा व्यापक क्षति पुगेको छ। यो हाम्रो मेडिकल संरचनामाथिको एकदमै गम्भीर हमला हो।”
यो आक्रमण इजरायल–इरान तनाव थप चर्किएको संकेतका रूपमा हेरिएको छ।