News Desk
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरसँग ह्वाइट हाउसको बन्द कक्षमा विशेष भेटवार्ता गरेका छन्। क्याबिनेट रुममा दुवैले एकसाथ भोजन पनि गरेका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यो भेट ऐतिहासिक मानिएको छ, किनकि यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेना प्रमुखलाई ह्वाइट हाउसमा स्वागत गरेको घटना यो पहिलोपटक हो।
ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीका अनुसार, जनरल मुनिरले मे महिनामा भारत र पाकिस्तानबीच उत्पन्न द्वन्द्व टार्न राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयासको प्रशंसा गर्दै श्रेय दिएका थिए। त्यसको प्रत्युत्तरस्वरूप ट्रम्पले उनलाई विशेष लन्चका लागि आमन्त्रण गरेका थिए।
भेटको क्रममा राष्ट्रपति ट्रम्पले मुनिरको भूराजनीतिक संयम र कूटनीतिक योगदानको सराहना गर्दै भने, “यस व्यक्तिले भारत–पाकिस्तानबीच सम्भावित युद्ध टार्न पाकिस्तानतर्फबाट निर्णायक भूमिका खेले।”
ह्वाइट हाउसको लनमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले मुनिरसँग इरान–इजरायलबीचको पछिल्लो तनाव र संभावित कूटनीतिक समाधानबारे पनि छलफल भएको जानकारी दिए।
हाल जनरल मुनिर औपचारिक भ्रमणमा अमेरिकामा रहेका छन्।
उक्त भेटघाटअघि केही घण्टा अघिमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ट्रम्पसँग झण्डै ३५ मिनेट लामो टेलिफोन वार्ता गरेका थिए, जसले क्षेत्रीय कूटनीतिक गतिविधिहरूमा नयाँ चासो थपेको छ।