हमासको नियन्त्रणमा रहेका तीन इजरायली बन्धकको शव गाजामा फेला
News Desk
Jun-23 , 2025 तारिख 06:06 बिहान

इजरायली सेनाले हमासको नियन्त्रणमा रहेका तीन इजरायली बन्धकको शव गाजामा फेला पारेको जनाएको छ। इजरायली सेना र आन्तरिक सुरक्षा निकाय शिन बेटले संयुक्त रूपमा सञ्चालन गरेको रात्रीकालीन कारबाहीका क्रममा ती शव फेला परेको जानकारी दिइएको छ।

उक्त कारबाहीमा भेटिएका शवहरू ७१ वर्षीया ओफ्रा केइदार, २१ वर्षीय योनातन सामेरानो र १९ वर्षीय सैनिक शे लेभिन्सनका रहेको पुष्टि गरिएको छ। ती सबैलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा हत्या गरी शवहरू समेत अपहरण गरी गाजामा लगिएको बताइएको छ। इजरायली सेनाले जुन महिनाभरि मात्र गाजाबाट आठ जना बन्धकको शव फेला पारिसकेको जनाएको छ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सो संयुक्त कारबाहीको प्रशंसा गर्दै इरानसँगको तनावपूर्ण अवस्थाका बाबजुद गाजामा रहेका बाँकी बन्धकहरूलाई सुरक्षित फिर्ता ल्याउन सरकार निरन्तर प्रयासरत रहेको स्पष्ट पार्नुभएको छ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि अचानक हमला गरी करिब १,२०० जनाको हत्या गरेको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो। ती बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि थिए। हालसम्म तीमध्ये आधाभन्दा धेरैजना विभिन्न संघर्षविराम र सहमति अन्तर्गत रिहा भइसकेका छन् भने आठ जनाको जिउँदै उद्धार गरिएको थियो। साथै, केही बन्धकको शव पनि इजरायली सेनाले फेला पारिसकेको छ।

हाल पनि करिब ५० जना इजरायली बन्धक हमासको नियन्त्रणमा रहेको र तिनीहरूमध्ये २० जना मात्र जीवित रहेको विश्वास गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

यता, गाजामा इजरायली सेनाले सञ्चालन गरिरहेको सैन्य आक्रमणमा हालसम्म ५५ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको ज्यान गइसकेको दाबी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको छ।

धेरै पढिएको