नेटो राष्ट्रहरूको रक्षा खर्चमा तीव्र वृद्धि गर्ने सहमति, सामूहिक सुरक्षा प्रतिबद्धता दोहोर्‍याइयो
News Desk
Jun-26 , 2025 तारिख 06:36 बिहान

नेदरल्याण्ड्सको द हेगमा सम्पन्न नेटो शिखर सम्मेलनमा सदस्य राष्ट्रका शीर्ष नेताहरूले रक्षा बजेट उल्लेख्य रूपमा वृद्धि गर्ने निर्णय गर्दै सामूहिक सुरक्षा दायित्वप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेका छन।

बैठकमा सहभागी देशहरूले आफ्नो वार्षिक रक्षा खर्चलाई सन २०३५ सम्ममा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत पुर्‍याउने प्रस्तावलाई समर्थन जनाएका छन। यद्यपि स्पेनले भने यस प्रस्तावमा औपचारिक प्रतिबद्धता जनाएको छैन।

यसअघि, २०१४ मा नेटोले जीडीपीको २ प्रतिशत रक्षा खर्च गर्ने लक्ष्य तय गरेको थियो, तर हालसम्म पनि धेरै सदस्य राष्ट्रले त्यो लक्ष्य हासिल गर्न सकेका छैनन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपेली मुलुकहरूले आफ्नै सुरक्षामा आवश्यक भन्दा कम खर्च गर्दै आएको भन्दै लामो समयदेखि दबाब दिँदै आउनुभएको छ। युक्रेनमाथि रूसको आक्रमणले सिर्जना गरेको संकटका कारण यसपटक नेटोले रक्षा तयारीमा आमूल परिवर्तनको बाटो रोजेको हो।

नेटोका महासचिव मार्क रूटेले युरोपेली मुलुक तथा क्यानडाका लागि थप बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण भए पनि रक्षा खर्च वृद्धि अब अपरिहार्य भएको स्पष्ट पार्नुभएको थियो।

नयाँ लक्ष्यअनुसार सदस्य राष्ट्रहरूले सशस्त्र बल र हतियारमा कुल ३।५ प्रतिशत तथा साइबर सुरक्षा र गुप्तचर प्रणालीमा १।५ प्रतिशत छुट्याउनु पर्नेछ। यसबाट प्रत्येक वर्ष सदस्य देशहरूले अर्बौं डलर बराबरको बजेट रक्षा क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ।

सन १९४९ मा सोभियत विस्तारवादी खतराको सामूहिक प्रतिरक्षा गर्ने उद्देश्यले स्थापना गरिएको नेटोमा हाल युरोपका ३० र उत्तर अमेरिकाका २ राष्ट्र गरी कुल ३२ सदस्य छन। नेटोको रणनीतिक प्राथमिकता पुनः परिभाषित भइरहेको अवस्थामा यो निर्णय भविष्यको सुरक्षात्मक ढाँचामा ऐतिहासिक मोड सावित हुन सक्ने विश्लेषण गरिएको छ।

धेरै पढिएको