News Desk
इजरायलसँग हालै सम्पन्न १२ दिने युद्धमा ज्यान गुमाएका ६० जना इरानी नागरिकको आज तेहरानमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मृतकमध्ये इरानका उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक, महिला तथा बालबालिका समेत रहेका छन्।
राजधानी तेहरानमा आयोजित यो शोकपूर्ण अन्त्येष्टि समारोहमा जनसागर उर्लिएको थियो। स्थानीय समय अनुसार बिहान ८ बजे प्रारम्भ भएको श्रद्धाञ्जली यात्रा मध्य तेहरानबाट सुरु भई ऐतिहासिक आजादी स्क्वायरमा पुगेर टुंगिएको थियो।
राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकामध्ये इस्लामिक रिभोलुसनरी गार्ड्सका प्रमुख होसेन सलामी, सशस्त्र बलका प्रमुख मोहम्मद बघेरी, र प्रख्यात आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरान्ची प्रमुख छन्। तेहरान्चीलाई उहाँकी पत्नी तथा छोरीसँगै समाधिस्थ गरिएको हो।
अल जजिराको रिपोर्टअनुसार, केही मृतकको अन्त्येष्टि तेहरानमै सम्पन्न गरिँदा केहीलाई आफ्ना गृहनगर पठाइएको छ। युद्धपछिको इरानी इतिहासमा पहिलोपटक यति धेरै कफिनहरू एकैपटक देखिएको जनाउँदै तेहरानका स्थानीय बासिन्दाले अत्यन्तै भावुक प्रतिक्रिया जनाएका छन्।
शोक सन्देशस्वरूप सरकारले आज सार्वजनिक बिदा घोषणा गरेको थियो। साथै, नागरिकहरूको सहजताका लागि निःशुल्क बस तथा मेट्रो सेवा पनि उपलब्ध गराइएको थियो।
इजरायलसँगको यो भीषण युद्धमा अहिलेसम्म ६२७ जनाको मृत्यु भएको इरान सरकारले आधिकारिक रूपमा पुष्टि गरिसकेको छ।