एलन मस्कले घोषणा गरे नयाँ राजनीतिक दल, ट्रम्पसँगको सम्बन्ध चिसिएपछि ‘अमेरिका पार्टी’ को स्थापना
News Desk
Jul-06 , 2025 तारिख 01:47 बेलुका

अमेरिकी अर्बपति तथा प्रविधि व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल स्थापना गरेको घोषणा गरेका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध चिसिएको केही हप्तापछि मस्कले सामाजिक सञ्जाल X मार्फत ‘अमेरिका पार्टी’ गठनको जानकारी सार्वजनिक गरेका हुन्।

उनको यो कदमले परम्परागत दुई ठूला दल— रिपब्लिकन र डेमोक्रेटिक—लाई कडा चुनौती दिने संकेत मिलेको छ। तर, मस्कले हालसम्म पार्टीको संगठनात्मक ढाँचा, नेतृत्व वा नीति कार्यक्रमबारे विस्तृत विवरण दिएका छैनन्।

अहिलेसम्म संघीय निर्वाचन आयोग (FEC) मा ‘अमेरिका पार्टी’ दर्ता भएको पुष्टि भइसकेको छैन। शनिबारसम्म आयोगले सो पार्टीबारे कुनै औपचारिक विवरण सार्वजनिक गरेको थिएन।

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा एलन मस्क ट्रम्पका सशक्त समर्थक थिए। उनले ट्रम्पको जित सुनिश्चित गर्न २५ करोड डलरको आर्थिक सहयोग गरेका थिए। त्यसबापत ट्रम्प प्रशासनले मस्कलाई सरकारी खर्च न्यूनीकरण विभाग—Efficiency Division—को प्रमुखको जिम्मेवारी दिएका थिए, जसको उद्देश्य संघीय बजेटमा कटौतीका क्षेत्रहरू पहिचान गर्नु थियो।

तर, ट्रम्प प्रशासनबाट बाहिरिएपछि दुबैबीच मतभेद चुलिँदै गएको थियो। मस्कले सार्वजनिक रूपमा ट्रम्पको कर नीति र बजेट खर्च योजनाको आलोचना गरेपछि सम्बन्ध थप बिग्रिएको थियो।

नयाँ पार्टीको घोषणासँगै अमेरिकी राजनीति नयाँ मोडमा प्रवेश गर्ने आकलन गरिँदैछ, यद्यपि मस्कको यो प्रयास चुनावी प्रणालीमा कति प्रभावकारी हुनेछ भन्ने प्रश्न भने खुला नै छ।

धेरै पढिएको