News Desk
काठमाडौं |नेटो (NATO) का महासचिव मार्क रुटले चीन र रुसबीचको बढ्दो समन्वयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। द न्युयोर्क टाइम्स सँगको अन्तर्वार्तामा उनले चीनका राष्ट्रपति सी चिनफिङले ताइवानमाथि आक्रमण अघि नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेटोमाथि हमला गर्न उक्साउने सम्भावना औँल्याएका छन्।
‘हामीले यो अवस्था बुझ्नुपर्छ, बेखबर हुन हुँदैन,’ रुटले स्पष्ट शब्दमा भने, ‘यदि सी चिनफिङले ताइवानमा आक्रमण गर्ने निर्णय गरे भने, त्यसअघि उनी मस्कोमा बस्ने आफ्ना कनिष्ठ सहयोगी पुटिनलाई फोन गरेर युरोपका नेटो देशहरूलाई उल्झाउन नेटोमाथि हमला गर्न भन्न सक्छन्। यसरी दुबै मोर्चामा आक्रमण हुने सम्भावना उच्च छ।’
रुटका अनुसार, चिनियाँ राष्ट्रपति सीको नजर ताइवानमाथि केन्द्रित छ भने पुटिनको आँखा पूर्व सोभियत संघबाट स्वतन्त्र भएका इस्टोनिया, लाट्भिया र लिथुवानियामाथि गडेको छ।
चीन–रुसको संयुक्त रणनीतिक जोखिमलाई न्यूनीकरण गर्न रुटले दुईवटा उपाय सुझाएका छन् :
नेटोको सामूहिक सैन्य क्षमता यति मजबुत बनाउने, जसले गर्दा रुसले हमला गर्नुअघि सयपटक सोच्नुपरोस्।
इन्डो–प्यासिफिक क्षेत्रसँग सहकार्य गर्दै सामूहिक सुरक्षा संरचना विस्तार गर्ने, जसलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्राथमिकता दिएका थिए।
रुसको सैन्य उत्पादन क्षमताप्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गरे। ‘नेटो सदस्य राष्ट्रहरूले एक वर्षमा उत्पादन गर्ने हतियार रुसले मात्र तीन महिनामा उत्पादन गरिरहेको छ,’ उनले बताए।
रुसले उत्तर कोरिया, चीन र इरानका सत्तासीन शक्तिहरूसँग मिलेर युक्रेन युद्धलाई निरन्तरता दिइरहेका बेला, नेटो र इन्डो–प्यासिफिक देशबीचको समन्वय अझै महत्वपूर्ण बनेको उनको भनाइ छ।
‘एटलान्टिक र इन्डो–प्यासिफिकबीचको सम्बन्ध झनझन बलियो बन्दै गएको छ,’ उनले चेतावनीसहित भने।
-एजेन्सी