News Desk
काठमाडौं, असार २९ | इलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्स (पूर्व ट्विटर) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिण्डा याकारिनो ले पदबाट राजीनामा दिएकी छन्। उनले एक वर्षको कार्यकालपछि एक्समै पोस्ट गर्दै राजीनामाको औपचारिक घोषणा गरेकी हुन्।
याकारिनोले आफ्नो पोस्टमा लेखेकी छन्, “अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, कम्पनीको रूपान्तरण, र एक्सलाई ‘सबै कुरा एप’ बनाउने जिम्मेवारी दिएकामा म आभारी छु।”
उनको राजीनामाबारे कम्पनीका मालिक इलोन मस्कले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
लिण्डा याकारिनो जुन २०२३ देखि एक्सको सीईओको भूमिकामा थिइन्। यसअघि उनी अमेरिकी सञ्चार संस्था एनबीसी युनिभर्सलमा विज्ञापन विभाग प्रमुखको रूपमा कार्यरत थिइन्।
राजीनामा घोषणा गर्दै याकारिनोले लेखेकी छन्, “मैले दुई असाधारण वर्षपछि यो पदबाट बाहिरिने निर्णय गरेकी छु।” यद्यपि एक्समा उनले काम सुरु गरेको एक वर्ष मात्र भएको हो, एनबीसी युनिभर्सलमा बिताएको समयसमेत समावेश गरेर उनले यो अभिव्यक्ति दिएकी हुन सक्छिन्।
उनको कार्यकालमा मस्क लगातार विवादमा तानिए। पछिल्लो समय मस्कको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ‘ग्रोक’लाई हिटलरको पक्षमा अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो। यसबारे एक्स एआईले विज्ञप्ति जारी गर्दै त्यस्ता 'अनुपयुक्त' सामग्री हटाउन कदम चालिरहेको जनाएको छ।
याकारिनोको राजीनामापछि एक्सको नेतृत्व कसले लिने भन्नेबारे भने कम्पनीले औपचारिक धारणा सार्वजनिक गरेको छैन।