News Desk
गोकर्ण, भारत असार ३० | भारतको कर्नाटकमास्थित गोकर्ण क्षेत्रको गुफाभित्र ४० वर्षीया रुसी महिला निना कुटिना (धार्मिक नाम ‘मोहि’) आफ्ना दुई छोरीहरू ६ वर्षीया प्रेया र ४ वर्षीया आमासँग बसिरहेको अवस्थामा उद्धार गरिएको छ। सन् २०१६ मा व्यावसायिक भिसामा भारत आएकी उनीको भिसा २०१७ मै सकिएको भए पनि उनी गोवामा लुकिछिपी बसेकी थिइन् र पछिल्लो केही वर्षदेखि गोकर्णको रमातीर्थ पहाडको गुफामा जीवनयापन गर्दै आएकी थिइन्।
धार्मिक साधना र ध्यान गर्न भारत आएको बताउने उनले गुफाभित्र रूद्रको मूर्ति स्थापना गरेर पूजा-पाठ गरिरहेकी थिइन्। ती महिला र उनका छोरीहरूले तत्कालिन अवस्था अनुसार चाउचाउ र सामान्य खाद्यवस्तु खाएर जीवन चलाइरहेका थिए।
हालै पहिरोको जोखिमपछि चेकिङमा गएका प्रहरीले गुफाबाहिर लुगा सुकाएको देखेर उनीहरूलाई भेटेका थिए। तत्पश्चात् स्थानीय प्रशासनले उनीहरूलाई उद्धार गरी नजिकैको आश्रममा राखेको छ भने छोरीहरूलाई बालसुरक्षा केन्द्रमा राखिएको छ। महिला अध्यागमन नियम उल्लङ्घन गरेको पुष्टि भएपछि उनलाई फिर्ता पठाउने प्रक्रिया अघि बढाइएको छ।