News Desk
लन्डन, असार ३० | लन्डनस्थित साउथेन्ड विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा परेको एक निजी विमानमा सवार चारै जनाको ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाउने सबै जना डच नागरिक रहेको स्थानीय प्रहरीले पुष्टि गरेको छ।
दुई इन्जिन भएको बिचक्राफ्ट किङ एयर बी२०० विमान आइतबार दिउँसो साउथेन्ड विमानस्थलबाट उडेको केही क्षणमै जमिनमा खस्दै दुर्घटनाग्रस्त भएको थियो। मृतकमध्ये तीन पुरुष र एक महिला रहेका छन्, जसमा पाइलट, सह–पाइलट, एक चिकित्सक र एक नर्स रहेका छन्।
विमान एक मेडिकल चार्टर उडानमा रहेको र यसले एक बेलायती बिरामीलाई साउथेन्ड विमानस्थलसम्म ल्याएर नेदरल्यान्ड्स फर्किने तयारीमा रहेको बताइएको छ।
एसेक्स प्रहरी प्रमुख सुपरिटेन्डेन्ट मोर्गन क्रोनिनले उक्त दुर्घटनाबारे जानकारी दिँदै, विमान उडेको केही समयमै दुर्घटनामा परेको र सवार सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका हुन्।
विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।