अमेरिकामा अप्रवासी सपना : गरिबी र उत्पीडनबाट अर्बपतिसम्मको यात्रा
News Desk
Aug-10 , 2025 तारिख 06:26 बिहान

"जब तपाईं एक भ्रष्ट शासनमा जन्मनुहुन्छ, जहाँ न त अवसर छन्, न त पैसा, त्यहाँ उज्यालो भविष्यको आशा गर्नु गाह्रो हुन्छ। त्यतिखेर तपाईं आशाको सानो तिनो किरण खोज्दै भौतारिनुहुन्छ," भन्छन् ७९ वर्षीय स्टिभन उदवर हेजी, जो अहिले एक सफल अर्बपति हुन्।

हंगेरीमा जन्मिएका हेजीले १४ वर्षको उमेरमै न्यूयोर्कको वेयरहाउसमा घण्टाको ३० सेन्टमा बक्स प्याक गर्ने कामबाट जीवन सुरु गरेका थिए। तर त्यही संघर्षबाट अघि बढ्दै उनले विमान भाडामा दिने व्यवसाय खडा गरे। अमेरिकाको स्वतन्त्र वातावरणमा मूल्य निर्माण, सहयोगी मानिस र उद्देश्यमा केन्द्रित हुने संस्कारले उनलाई नयाँ जीवनको सुरुवात दिन सक्यो।

स्टिभन ती १२५ अमेरिकी अर्बपतिहरूमध्ये एक हुन्, जो विदेशमा जन्मिएका थिए। सन् २०२२ मा यस्ता अर्बपतिको संख्या ९२ मात्र थियो। अहिले यो संख्या कीर्तिमानी स्तरमा पुगेको छ, जसमा ४१ देशका आप्रवासीहरू समावेश छन्। यिनीहरू अमेरिका भित्रको कुल सम्पत्तिको १४ प्रतिशत भागका मालिक हुन्। संयुक्त रूपमा यिनीहरूसँग १३ ट्रिलियन डलर बराबरको सम्पत्ति छ – जुन अमेरिकाका कुल अर्बपतिको सम्पत्तिको १८ प्रतिशत हो।

विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्क पनि आप्रवासी अर्बपतिका उदाहरण हुन्। दक्षिण अफ्रिकाबाट क्यानाडा हुँदै अमेरिका प्रवेश गरेका मस्कसँग अहिले ३९३ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। यस्तै, गूगलका सहसंस्थापक सर्जे ब्रिन र एनभिडियाका सीईओ जेन्सेन हुआङ पनि आप्रवासी अर्बपतिमा अग्रपंक्तिमा छन्। ब्रिन बाल्यकालमा रुसबाट अमेरिका आएका थिए, र हुआङ ताइवान हुँदै अमेरिका पुगेका थिए।

त्यस्तै, इरानमा जन्मेकी मेकी जानागानेले पनि अमेरिकी सपना पुरा गरेकी छन्। उनी सन् २००२ मा पहिलोपटक अमेरिका आइन्, र अहिले Summit Therapeutics को सह–सीईओ बनेकी छिन्। फोक्सो क्यान्सरको औषधिमा सफलता पाएपछि उनी अर्बपतिको सूचीमा परिन्। "सफलताको सूत्र हो – चनाखो रहनु, परिस्थिति अनुसार समायोजन गर्नु, र मानसिक सन्तुलन कायम राख्नु," उनी भन्छिन्।

भारतबाट अमेरिका आएका आप्रवासी अर्बपतिहरूको संख्या पनि तीव्र गतिमा बढिरहेको छ। सन् २०२५ सम्ममा अमेरिकामा १२ जना भारतीय आप्रवासी अर्बपति रहेका छन् – जुन विश्वमै सबैभन्दा धेरै हो। सुन्दर पिचाई, सत्या नाडेला र निकेश अरोरा जस्ता व्यक्तिहरूले अमेरिकाको प्रविधि क्षेत्रमा उच्च स्थान बनाएका छन्।

फोर्ब्सका अनुसार, अमेरिकी आप्रवासी अर्बपतिमध्ये ९३ प्रतिशतले आफ्नै प्रयासबाट सफलता प्राप्त गरेका छन्। तीमध्ये झण्डै दुई तिहाइ प्रविधि वा वित्तीय क्षेत्रसँग सम्बन्धित छन्।

Source : Agency 

धेरै पढिएको