News Desk
काठमाडौं | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी श्रावण ३० गते (अगस्ट १५) अलास्कामा उच्चस्तरीय वार्ता हुने पक्का भएको छ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले उक्त वार्ताबारे जानकारी दिँदै युक्रेन-रूस युद्ध अन्त्यको दिशामा छलफलहरू सकारात्मक भइरहेको दाबी गरेका छन्। उनका अनुसार अमेरिका, युक्रेन र रूसबीचको पछिल्लो संवादले युद्धविराम सम्भावना बलियो बनाएको छ।
ट्रम्पले केही भूभाग साटासाट हुन सक्ने संकेत पनि गरेका छन्, जसले युद्ध अन्त्यका लागि मार्ग खोल्न सक्ने सम्भावना देखिएको छ। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको प्रस्तावप्रति तीव्र आपत्ति जनाएका छन्।
शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेनको संविधानअनुसार कुनै पनि भूभाग अरूलाई दिने कुरा असम्भव रहेको प्रस्ट पारे। उनले युक्रेनको भूमिबारे कुनै बाह्य सम्झौता पूर्ण रूपमा अस्वीकार्य भएको भन्दै, युक्रेनलाई समेटेर मात्र शान्तिको सम्भावना खोज्न सकिने बताए।
रूसले हाल लुहान्स्क, डोनेत्स्क, जापोरिज्झिया, खेरसोन र क्राइमिया क्षेत्रहरूलाई आफ्नै भूभागको रूपमा दाबी गर्दै आएको छ, जुन विवादको मुख्य बिन्दु बनेको छ।
यद्यपि ट्रम्प–पुटिन वार्ताबाट केही प्रगति हुने आशा देखिए पनि युक्रेनको कडा अडानका कारण तत्कालीन सम्झौता सहज नहुने प्रष्ट देखिएको छ।