सुडानको एल-फाशेरमा कुपोषणको चपेटा, एक सातामै ६३ को मृत्यु
News Desk
Aug-11 , 2025 तारिख 06:29 बिहान

सुडानको घेराबन्दीमा परेको एल–फाशेर सहरमा कुपोषणका कारण केवल सात दिनमै कम्तीमा ६३ जनाको ज्यान गएको छ। एक स्थानीय स्वास्थ्य अधिकारीका अनुसार मृतकमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्।

आधिकारिक तथ्यांकले देखाएअनुसार यो संख्या अस्पतालसम्म पुगेर उपचार प्राप्त गरेका बिरामीहरूमध्येको मात्र हो। सुरक्षा अभाव र यातायातका साधन नहुँदा धेरै परिवारले उपचार नै नगरी मृत आफन्तलाई घरमै गाडेका छन्।

गत वर्षको जेठदेखि अर्धसैनिक समूह ‘द्रुत सहायता बल’ (RSF) ले एल–फाशेरलाई घेराबन्दीमा राखेको छ। सो समूह र सुडानी सरकारी सेना बीच विसं २०८० को वैशाखदेखि भीषण युद्ध चलिरहेको छ। एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा बाँकी रहेका ठूला सहरमध्ये अन्तिममा पर्छ। राजधानीबाट फिर्ता भएपछि RSF ले हालै यहाँ आक्रमण तीव्र पारेको छ।

गत चैतमा नजिकैको जमजम विस्थापित शिविरमा भएको ठूलो आक्रमणपछि दशौं हजार मानिस फेरि विस्थापित भई एल–फाशेरमै आश्रय लिन बाध्य भएका थिए।

अहिले एक समय जीवनरक्षक मानिएका सामूहिक भान्साघरहरू खाद्यान्न अभावका कारण बन्द भएका छन्। स्थानीय स्रोतहरूका अनुसार केही परिवारले पशुलाई खुवाउने घाँस वा फालिएका खानेकुरा खाएर गुजारा गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघका तथ्यांक अनुसार, पाँच वर्षमुनिका बालबालिकामध्ये करिब ४० प्रतिशत तीव्र कुपोषणग्रस्त छन्, जसमा ११ प्रतिशत गम्भीर अवस्थामा छन्।

तीन वर्षदेखि जारी संघर्षले हालसम्म दशौं हजारको मृत्यु, लाखौंको विस्थापन र विश्वकै सबैभन्दा ठूलो विस्थापन तथा भोकमरीको संकट निम्त्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

धेरै पढिएको