News Desk
हमासको नियन्त्रणमा रहेको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायलले गाजामा भीषण हवाई आक्रमण गरेको छ।
बीबीसीका अनुसार इजरायली सेना गाजा कब्जा गर्ने तयारीमा छ। केही दिनअघि मात्र इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजाको नियन्त्रण लिनेसम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो।
नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसलले जैतुन र साब्राका आवासीय क्षेत्रमा लगातार तीन दिनसम्म बम तथा ड्रोन आक्रमण भएको जानकारी दिएका छन्। उनका अनुसार ती आक्रमणका कारण स्थानीय जनताको घरहरूमा व्यापक क्षति पुगेको छ।
यसबीच, बेलायत, युरोपेली संघ, अष्ट्रेलिया, क्यानडा र जापानले संयुक्त विज्ञप्ति जारी गर्दै “हाम्रा आँखाअगाडि भोकमरीको संकट मडारिरहेको” चेतावनी दिएका छन्। उनीहरूले गाजामा राहत सामग्री पुर्याउन तत्काल, स्थायी र ठोस कदम चाल्न आग्रह गरेका छन्।
इजरायलले भने गाजामा भोकमरी नभएको दाबी गरेको छ।
गत ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १,२०० भन्दा बढी मानिसको मृत्यु भएको थियो र २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसको जवाफी कारबाहीमा इजरायलले गाजामा गरेको आक्रमणबाट हालसम्म कम्तीमा ६१ हजार प्यालेस्टिनी मारिएको गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो तथ्याङ्क संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको छ।