पाकिस्तानमा भीषण बाढी–पहिरो : ३४० भन्दा बढीको मृत्यु, हजारौं प्रभावित
News Desk
Aug-17 , 2025 तारिख 06:51 बिहान

पाकिस्तानमा लगातारको मुसलधारे वर्षापछि आएको बाढी र पहिरोले व्यापक जनधनको क्षति पुर्‍याएको छ। पछिल्लो ४८ घण्टामा मात्रै कम्तीमा ३४० जनाले ज्यान गुमाएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ मात्र ३२८ जनाको मृत्यु भएको छ। जम्मु–कश्मीरमा ११ र गिलगित–बाल्टिस्तान क्षेत्रमा १२ जनाको ज्यान गएको पाकिस्तान विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टीभीले उल्लेख गरेको छ। मृतकमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्।

करिब २ हजारभन्दा बढी सुरक्षाकर्मी तथा उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। पाकिस्तानी सेनाले विपद् प्रभावित क्षेत्रमा करिब ६ सय टन खाद्यान्न पठाएको छ।

बुनर, बजौर, मानसेरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरिएको छ। स्थानीय बासिन्दाले यो घटनालाई ‘प्रलयको दिन’ सरहको भयावह क्षण भनेर वर्णन गरेका छन्। यसैबीच उद्धार कार्यमा प्रयोग भएको प्रान्तीय सरकारको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन्।

मौसम विभागले आगामी दिनमा अझै प्रचण्ड वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त क्षेत्रमा बस्नेहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। शनिबार सरकारको निर्णयअनुसार देशव्यापी शोक घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ। मृतकको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने पनि जनाइएको छ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसमजन्य घटनाहरू वर्षेनि बढ्दो क्रममा छन्। यस वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० भन्दा बढीको ज्यान लिइसकेको आधिकारिक तथ्यांकमा उल्लेख छ।