पाकिस्तानमा मुसलधारे वर्षाले निम्त्याएको भीषण बाढी र पहिरोमा प​रि मृत्यु हुनेको संख्या ४०० नाघ्यो
News Desk
Aug-20 , 2025 तारिख 06:37 बिहान

उत्तरी पाकिस्तानमा पाँच दिनदेखि लगातार भइरहेको मुसलधारे वर्षाले भीषण बाढी र पहिरो ल्याउँदा मृतकको संख्या ४०० नाघेको छ। अधिकारीहरूले मनसुनको वर्षा अझै केही दिन कायम रहने चेतावनी दिएका कारण उद्धार टोली र स्थानीयबासीहरूले मंगलबारदेखि पुनः जीवितहरू खोज्ने प्रयासलाई तीव्र बनाएका छन्।

खासगरी अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा प्रभावित बनेको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार, बिहीबारदेखि अहिलेसम्म त्यहाँ मात्र ३५६ जनाले ज्यान गुमाएका छन्। वरपरका अन्य क्षेत्रमा पनि दशौँको मृत्यु भइसकेकाले कुल मृतक संख्या करिब ४०० पुगेको छ।

अत्यधिक वर्षाले खैबर पख्तुनख्वाको दलोरी गाउँलाई पूरै बगाएको छ। धेरै बासिन्दा भग्नावशेषमा फसेका छन् भने कैयौँ अझै बेपत्ता रहेका छन्। उद्धारकर्मीहरू गाउँभरि माटो र ढुङ्गाको थुप्रो खनेर हराइरहेका मानिसहरूलाई फेला पार्ने प्रयासमा निरन्तर खटिएका छन्।

भीषण वर्षाका कारण खोजी कार्य रोकिएको एक दिनपछि पुनः सुरु भएको उद्धारमा गाउँलेहरू पनि आँखा भिजाउँदै प्रार्थना गर्दै सहभागी भएका छन्। प्रत्यक्षदर्शीहरू भन्छन्, “२० मिनेटभन्दा कम समयमा हाम्रो गाउँ अस्तित्वमै रहेन।”

 

धेरै पढिएको