हमासले नेपालका विपिन जोशीसहित ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक
News Desk
Sep-21 , 2025 तारिख 06:02 बिहान

 

गाजा युद्ध उत्कर्षमा पुगेका बेला हमासले नेपालका विद्यार्थी विपिन जोशीसहित ४८ जना इजरायली बन्दीहरूको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाही तीव्र पारेको सन्दर्भमा सार्वजनिक गरिएका यी तस्बिरहरूले नयाँ तरंग ल्याएको छ।

सञ्चार संस्था अल जजिराका अनुसार हमाससम्बद्ध कस्साम ब्रिगेडले अनलाइनमार्फत ती तस्बिरहरू सार्वजनिक गरेको हो। प्रकाशित तस्बिरहरूमा जीवित र मृत दुवै प्रकारका बन्दीहरू रहेका उल्लेख गरिएको छ। नेपालका विपिन जोशीको तस्बिर पनि त्यसमध्ये रहेको र उनको वास्तविक अवस्था अझै अज्ञात रहेको जानकारीमा परिवार पीडामा छन्। विपिनको परिवारले अन्नपूर्ण पोस्टसँग कुरा गर्दै, “यसबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन, हामी इजरायलमा निरन्तर सम्पर्क गरिरहेका छौँ,” भनेका छन्।

विशेष कुरा के छ भने ती सबै तस्बिरमा “रोन अरद” नाम अंकित गरिएको छ। रोन अरद इजरायली वायुसेनाका कप्तान थिए, जो सन् १९८६ मा लेबनानमा बेपत्ता भएका थिए। उनको एफ–४ फ्यान्टम लडाकु विमान दक्षिणी लेबनानमा आक्रमणको क्रममा बम समयअगावै विस्फोट हुँदा खसेको थियो। उनको वास्तविक अवस्थाबारे अहिलेसम्म ठोस प्रमाण फेला परेको छैन। विश्लेषकहरूले हमासले रोन अरदको नाम प्रयोग गरेर इजरायललाई मनोवैज्ञानिक दबाब दिने प्रयास गरेको हुनसक्ने बताएका छन्।

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको प्रस्ताव अस्वीकार गरेको र निरन्तर आक्रमणकै कारण बन्दीहरूको जीवन संकटमा परेको चेतावनी दिएको छ। इजरायलले हाल करिब २० जना बन्दी मात्र जीवित रहेको दाबी गरेको छ भने अमेरिकाले अझै कम हुन सक्ने आँकलन गरेको छ।

२०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा ६५ हजारभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन्। निरन्तर बमबारीका कारण गाजा सहरलाई पूर्ण युद्धक्षेत्र घोषणा गरिएको छ, जहाँ हजारौँ निर्दोष नागरिक विस्थापित भएका छन्। विद्यालय, अस्पताल, र आश्रयस्थलसमेत आक्रमणको लक्ष्य बनेका छन्।

प्रधानमन्त्री नेतान्याहूले भने हमाससँग कुनै सम्झौता नगर्ने अडान दोहोर्याएका छन्। उनले “गाजामा नरसंहारपूर्ण युद्धलाई अन्तिमसम्म लैजाने” घोषणा गर्दै अन्तर्राष्ट्रिय दबाबलाई समेत अस्वीकार गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले भने युद्धविराम र बन्दीहरूको सुरक्षित मुक्तिको लागि कूटनीतिक पहललाई अझै सशक्त बनाउनुपर्ने आवाज उठाइरहेका छन्।

 

धेरै पढिएको