News Desk
न्यूयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार न्यूयोर्कमा अरब देशका नेताहरूसँग गाजाको अवस्थाबारे विशेष छलफल गर्ने भएका छन्।
यो वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग हुने भेटअघि तय भएको हो। ट्रम्प र नेतान्याहूबीचको भेट सेप्टेम्बर २९ मा हुन लागेको छ।
संयुक्त राष्ट्र संघको महासभाको बैठक चलिरहेका बेला हुने उक्त छलफलमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेता सहभागी हुने बताइएको छ।
ट्रम्पले यसै अवसरमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने तयारी समेत गरेका छन्।
यसअघि सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले महासभामा भाषण दिँदै प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेका थिए। आइतबार मात्र बेलायत, अष्ट्रेलिया, पोर्चुगल र क्यानडाले पनि प्यालेस्टाइनलाई औपचारिक मान्यता दिएका थिए।