News Desk
नयाँ दिल्ली | भारतीय केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित बुधबार हिंस्रक प्रदर्शन भएको छ। राजधानी दिल्लीसम्म प्रतिध्वनित भएको आन्दोलनमा विद्यार्थी र सुरक्षाकर्मीबीच तीव्र झडप भएको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।
प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा तोडफोड गरेका छन्। सुरक्षाकर्मीको गाडीमा आगजनीसमेत भएको बताइएको छ। आन्दोलनलाई सामाजिक अभियन्ता सोनम वाङ्गचुकले समर्थन गरेका छन्, जसले पछिल्ला १५ दिनदेखि अनशनरत रहँदै युवाहरूको आन्दोलनलाई “जेन–जेड रिभोलुसन” को संज्ञा दिएका छन्।
लद्दाखलाई पूर्ण राज्यको मान्यता, कारगिल र लेहलाई छुट्टै लोकसभा सिट, तथा सरकारी सेवामा स्थानीयलाई प्राथमिकता दिने मागसहित प्रदर्शन तीव्र बनेको हो। यी मागबारे छलफल गर्न आगामी अक्टोबर ८ मा राजधानी दिल्लीमा बैठक बोलाइएको छ।
लद्दाखमा हिंसा भड्किनुको पूर्व योजना मंगलबार नै सामाजिक सञ्जालमार्फत बनेको बताइएको छ। बुधबार बिहान हजारौँ प्रदर्शनकारी प्रशासनिक केन्द्र हिल काउन्सिल कार्यालयतर्फ अघि बढेपछि प्रहरी र केन्द्रीय सुरक्षा बलले बल प्रयोग गरेको थियो।
सामाजिक अभियन्ता सोनम वाङ्गचुक १८ महिनादेखि लगातार आन्दोलनरत छन्। ५९ वर्षीय इन्जिनियर एवं पर्यावरण अभियन्ता वाङ्गचुकलाई भारतीय फिल्म थ्री इडियट्स मा ‘फुनसुख वांगडु’ पात्रको प्रेरणा मानिन्छ। उनले यसअघि अनसन, पदयात्रा र अनवरत आन्दोलनमार्फत राज्यसत्तालाई दबाब दिँदै आएका छन्।
सन २०१९ मा अनुच्छेद ३७० र ३५(ए) खारेजपछि जम्मु–काश्मीर र लद्दाखलाई केन्द्रशासित प्रदेश बनाइएको थियो। त्यसबेला सरकारले राज्यको अवस्था सामान्य भएपछि लद्दाखलाई पूर्ण राज्यको मान्यता दिने आश्वासन दिएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।