News Desk
डेनमार्कको रक्षा मन्त्रालयले शुक्रबारदेखि शनिबार रातिसम्म देशका विभिन्न सैन्य प्रतिष्ठान वरिपरि अज्ञात ड्रोन देखिएको पुष्टि गरेको छ। यसअघि पनि नर्डिक क्षेत्रका हवाई अड्डाहरूमा देखिएका ड्रोनका कारण केही समयका लागि उडान स्थगित गर्नुपरेको थियो।
मन्त्रालयले ड्रोन देखिएको स्थान सार्वजनिक नगरे पनि डेनमार्कको सार्वजनिक प्रसारक डीआर (ड्र्) ले प्रहरी स्रोतलाई उद्धृत गर्दै भन्यो, शुक्रबार राति करिब ८ बजे करुप एयर बेस वरिपरि र बाडभित्रै ड्रोन देखिएको थियो।
ड्रोन देखिएपछि केही समयका लागि हवाई क्षेत्र नागरिक उड्डयनका लागि बन्द गरिएको थियो। तर, करुप एयर बेसबाट हाल नियमित नागरिक उडान नहुँदा उडानमा ठूलो प्रभाव परेन।
यो घटनाले उत्तरी युरोपमा बढ्दो सुरक्षा चिन्तालाई थप गहिरो बनाएको छ। गत बुधबारदेखि बिहीबार रातिसम्म कोपनहेगनसहित डेनमार्कका चारवटा हवाई अड्डामा देखिएका ड्रोन गतिविधिले उडान अवरुद्ध गर्नुपरेको थियो। राजधानीमा सोमबार राति देखिएको ड्रोनले त घण्टौँसम्म हवाई सेवा रोकिएको थियो।
डेनमार्कका न्यायमन्त्री पिटर हम्मेलगार्डले ड्रोन गतिविधिलाई ‘डर र विभाजन सिर्जना गर्ने प्रयास’ भन्दै चेतावनी दिए। उनले भने, “डेनमार्क यस्ता खतराहरूलाई असरविहीन पार्न थप कडा कदम चाल्नेछ।” उनका अनुसार आवश्यक परे पूर्वाधार सञ्चालकहरूलाई सीधै ड्रोन खसाल्न अनुमति दिने कानून ल्याउने तयारी भइरहेको छ।
रक्षा मन्त्रालयले युरोपेली सङ्घ (इयु)को आगामी शिखर सम्मेलनलाई दृष्टिगत गर्दै स्विडेनबाट उपलब्ध गराइने सैन्य एन्टी–ड्रोन क्षमता स्वीकार गरेको पनि जनाएको छ।
यता, छिमेकी जर्मनीमा पनि ड्रोन गतिविधि तीव्र भएको छ। उत्तरी राज्य श्लेसविग–होल्स्टाइनमा बिहीबारदेखि शुक्रबार रातिसम्म धेरै ड्रोन देखिएको रिपोर्ट छ। राज्यकी गृहमन्त्री सबिन सुटरलिन–वाकले अन्य राज्यहरूसँग सहकार्यमा ड्रोन प्रतिरक्षा उपायहरू उल्लेखनीय रूपमा बढाइएको बताए पनि थप विवरण सार्वजनिक गरेनन।
जर्मन चान्सलर फ्रेडरिक मेर्जले भने, “हामी युद्धमा छैनौँ, तर अब शान्तिमा पनि छैनौँ,” भन्दै युरोपका पूर्वाधार र डाटा नेटवर्कमाथि भइरहेको निरन्तर आक्रमण ठूलो चुनौती भएको टिप्पणी गरे। उनले कुनै देशलाई प्रत्यक्ष दोष नदिँदै ‘ड्रोन उडान, जासुसी, सार्वजनिक व्यक्तित्वमाथि खतरा, साइबरआक्रमण र तोडफोडजस्ता गतिविधि दैनिक आधारमा भइरहेका छन्’ भनी सावधान गराएका छन।