अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै सुरक्षा चुनौती बढ्दै गएको चेतावनी दिएका छन्। मंगलबार (स्थानीय समय) भर्जिनियाको क्वान्टिकोस्थित मरीन कप्रस बेसमा सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै उनले आन्तरिक खतरालाई ‘विदेशी शत्रुभन्दा अझै गाह्रो’ बताए।
ट्रम्पका अनुसार यस्तो खतरा सिर्जना गर्ने समूह वर्दी नलगाउने भएकाले तिनीहरूलाई पहिचान गर्न कठिन हुन्छ। उनले अमेरिकी भित्री सहरहरूलाई सुरक्षा चुनौतीको केन्द्र मानेर खतरनाक सहरहरूलाई सैन्य तथा नेसनल गार्ड प्रशिक्षण मैदानका रूपमा प्रयोग गर्न रक्षामन्त्री पिट हेग्सेथलाई सुझाव दिएका छन्।
“हाम्रा भित्री सहरहरू अहिले युद्धको हिस्सा बनेका छन्। मैले पिटलाई भनेँ—यी खतरनाक सहरहरूलाई हामीले सेना र नेसनल गार्डको प्रशिक्षण मैदान बनाउनुपर्छ। हामी चाँडै शिकागो जाँदैछौँ,” उनले भने।
राष्ट्रपति ट्रम्पले सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क र लस एन्जलसलाई विशेष गरी ‘असुरक्षित’ क्षेत्रका रूपमा उल्लेख गर्दै आफ्नो प्रशासनले यी सहरहरूलाई क्रमशः सम्बोधन गर्ने बताए। “यो हाम्रो लागि प्रमुख युद्ध हो र यो भित्रैबाट हुने युद्ध हो,” उनले जोड दिए।
यसअघि, सेप्टेम्बर २१ मा ट्रम्पले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको दाबी गर्दै यसलाई आफ्नो प्रशासनको कडाइ र सुशासनको परिणाम भएको बताएका थिए।
यसैबीच, अमेरिकी प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरिरहेको समाचार बाहिर आएको छ।