ट्रम्प प्रशासनद्वारा हजारौं संघीय कर्मचारीलाई हटाउने प्रक्रिया सुरु
News Desk
Oct-12 तारिख 06:28 बिहान

अमेरिकामा संघीय सरकार बन्द भएको अवस्थाबीच राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेमोक्र्याटहरूमा दबाब बढाउने उद्देश्यले हजारौं संघीय कर्मचारीलाई हटाउने प्रक्रिया सुरु गरेको छ। ह्वाइट हाउसको अफिस अफ म्यानेजमेन्टका निर्देशक रसेल भोटले सामाजिक सञ्जाल एक्समा ‘आरआईएफ सुरु भएको’ उल्लेख गरेका छन्, जसको अर्थ ‘कार्यबलमा कमी’ हो। उनका अनुसार यो कदम प्रशासनिक सुधारको हिस्सा हो, जसअन्तर्गत सात वटा संघीय एजेन्सीबाट ४,००० भन्दा बढी कर्मचारीलाई हटाइनेछ।

भोटको कार्यालयका प्रवक्ताले पनि कर्मचारी कटौती सुरु भएको पुष्टि गर्दै यसलाई “महत्त्वपूर्ण कदम” भनेका छन्। राष्ट्रपति ट्रम्पले भने यो प्रक्रिया आफ्नो लामो समयदेखिको लक्ष्य पूरा गर्न उपयोगी भएको बताएका छन्। उनका अनुसार संघीय कार्यबल घटाएर सरकारलाई “कुशल र जिम्मेवार” बनाउन यो अवसर प्राप्त भएको हो।

अमेरिकी कानुन अनुसार, संघीय कर्मचारीलाई हटाउनु अघि कम्तीमा ३० दिनको पूर्वसूचना दिनुपर्ने प्रावधान छ। तर, हाल सरकारी खर्च सम्बन्धी विधेयक पारित नहुँदा सिनेटमा सहमति नजुटेपछि सरकारले अस्थायी रूपमा काम रोक्नुपरेको हो।

यस घटनालाई लिएर डेमोक्र्याट र रिपब्लिकनबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ। बन्दको कारण हजारौं संघीय कर्मचारीहरू तलबबिनै अनिश्चितकालीन बिदामा पठाइँदै छन्, जसले प्रशासनिक र सामाजिक दुवै क्षेत्रमा असर पार्न थालेको छ।

धेरै पढिएको